घोराही – संघीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङको देउखुरी विभिन्न सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।
लमही नगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर बिहीवार आयोजना गरेको बृहत् वृक्षारोपण कार्यक्रममा उनले पछिल्लो समय विभिन्न बहानामा वन जंगल मास्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।
वन जंगल जोगाउन सामुदायिक वनका उपभोक्ता स्वयम् सक्रिय हुनुपर्ने सभामुख महराको धारणा थियो । उनले संघीय संसद्मा वातावरण परिवर्तनबारे बहस चलिरहेको बताए । प्राकृतिक सम्पदाको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
‘सबैको ध्यान वन जोगाउने तिर हुनुपर्छ । अनि मात्र नेपाललाई सधैं हरियाली देख्न पाइन्छ,’ सभामुख महराले भने । सो अवसरमा उनले लोपोन्मुख सतिसालको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा सांसद मेटमणि चौधरीले मुलुकलाई हरियालीको रुपमा विकास गर्न देशभर बृहत् वृक्षारोपण तथा वनको संरक्षणको आवश्यकता रहेको बताए । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले जिल्लाका स्थानीय तहलाई संघीय सरकार र प्रदेश सरकारको बजेटले छुन नसकेको गुनासो गरे ।