
काठमाडौं – उत्तर कोरियामा अघिल्लो हप्ता हराएका अस्ट्रेलियाली विद्यार्थी एलेक सिग्लीलाई मुक्त गरिएको र उनी सुरक्षित रहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।
प्योङयाङस्थित स्विडिश दूतावास र उत्तर कोरियाली सरकारका अधिकारीबीचको बैठकपछि सिग्ली थुनामुक्त भएका हुन् ।
उत्तर कोरियामा अस्ट्रेलियाको आफ्नै दूतावास छैन ।
सिग्ली प्योङयाङमा बसेर स्नातकोत्तर पढिरहेका थिए र पर्यटन व्यवसाय पनि चलाइरहेका थिए ।
उनलाई किन हिरासतमा लिइएको भन्ने प्रस्ट हुन सकेको छैन । उनी फरर कोरियाली भाषा बोल्छन् ।
उनी मुक्त भएको खबर पहिलोपटक एनके न्युजले दिएको थियो । उनी चीनमा सुरक्षित रहेको र त्यहाँबाट जापान जाने भनी लेखिएको थियो ।
सिग्लीका पिताले उनी सुरक्षित रहेको थाहा पाउँदा आफ्नो परिवार अत्यन्तै खुशी भएको पत्रकारहरूलाई बताए ।
बीबीसीबाट