
काठमाडौं – राजधानी काठमाडौंस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले आशास हेल्थ केयर प्रालिमा आवद्ध वरिष्ठतम् एवम् अनुभवी चिकित्सकको सहयोगमा नक्सालको नागपोखरीमा असहाय, अशक्त, अपाङ्ग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ ।
वरिष्ठ उद्योगपति, समाजेसेवी बुद्धिजीवीहरुको बृहत उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरी उक्त फिजियोथेरापी सेन्टरको उदघाटन गरिएको थियो ।
यस फिजियोथेरापी सेन्टरले असहाय, अशक्त, अपाङ्ग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलको सिफारिसमा निःशुल्क सेवा प्रदान गर्ने तथा अन्य व्यक्तिहरूको हकमा न्यूनतम् शुल्क लिई उक्त सेवा प्रदान गर्ने भनि जैन स्वेताम्बर तेरापन्थका अध्यक्ष रश्मि जैनले उक्त कार्यक्रममा जानकारी गराए ।
फिजियोथेरापी सेन्टर सञ्चालनका लागि जावलाखेलस्थित आशास हेल्थ केयरले मेडिकल सहयोग प्रदान गरेको अध्यक्षबाट उक्त कार्यक्रममा जानकारी गराइयो ।