
बझाङ- सोमवार राति भएको युवती हत्याको घटनालाई लिएर आक्रोशित बुङ्गलका स्थानीयले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन् ।
तोडफोडबाट १५ करोड बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो ।
डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधव बोहराले हत्या स्वीकार गरिसकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए ।
स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले शुक्रवार विहानै देखी आयोजनाका क्याम्प, गाडी तथा मेसिनहरुमा तोडफोड शुरू गरेका थिए । भीड नियन्त्रणमा लिनको लागि प्रहरीले पाँच सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
नेपाल प्रहरी र ससस्त्र प्रहरीको थप बल बुङ्गल तर्फ परिचालन गरिएको भए पनि अराजक भिड नियन्त्रणमा नआएको डीएसपी सुर्यबहादुर केसीले बताए ।
उत्तेजक भीडले रनलेकमा रहेको मुख्य क्याम्प र कार्यालय, विराबगरमा रहेको निर्माण क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरूमा क्षति पुर्याएको उनको भनाइ छ ।
‘१५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ,’ आयोजनाका संस्थापक विरेन्द मल्लले बताए । प्रदर्शनकारीहरूले प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।
मल्लले भने, ‘तोडफोड अझै चलिरहेको छ । हाम्रा मान्छेहरू त्यहाँबाट लखेटिएका छन् । कहाँ कति क्षति भएको छ भनेर विवरण संकलन गर्ने अवस्था नै छैन ।’ उनले हत्याको निहुँ बनाएर जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोजेको बताए ।
स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षकहरूले विद्यार्थीलाई उचालेर आयोजनाको संरचना तथा उपकरणहरूमा तोडफोड गरेको आयोजना कार्यालयको आरोप छ ।
आफ्नै छोरीको मृत्युको विषयलाई लिएर आन्दोलन भइरहेको भए पनि मृतकका परिवारलाई यस विषयमा कुनै जानकारी नभएको ममताका बुवा कलक बहादुर धामीले बताए ।
उनले भने, ‘प्रहरीले दोषीलाई पक्राउ गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको छ । किन आन्दोलन गरिरहेका छन् भन्ने कुरा हामीलाई नै थाहा छैन । यो विषयमा हामीसँग कसैले सरसल्लाह पनि गरेको छैन ।’