
काठमाडौं – पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ ।
आइतवारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरू भएको छ ।
शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ ।
यही क्रममा आगामी साउन १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । संस्थाले सोमवार एक आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार रुपैयाँ कित्ता साधारण शेयर बिक्री गर्न लागिएको उल्लेख गरेको छ ।
आह्वानपत्र अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी साउन ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई ८ हजार २ सय ५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५ सय कित्ता सुरक्षित गरिएको छ ।
संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।
यसैबीच सहयोगी विकास बैंकको शेयर कारोवार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेशनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो । आइतवार सिटिजनले सहयोगी विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको छ । २ संस्था गाँभिएर एकीकृत कारोवार नहुँदासम्म शेयर कारोबार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिए ।
स्टकमा सोमवार सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर लाभांश सूचीकृत भएको छ । कूल ३ लाख २३ हजार १ सय ९० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।