
काठमाडौं – भारतको कर्नाटक राज्यमा कांग्रेस र जेडीएसको गठबन्धन सरकार ढल्ने लक्षण देखिएको छ । गठबन्धन सरकारका १३ विधायकले राजीनामा दिएका छन् । अरू विधायकले पनि राजीनामा दिने लक्षण देखिएको छ ।
विधायकहरूको राजीनामाका कारण कर्नाटक विधानसभाको समीकरण परिवर्तन हुने देखिएको छ । कांग्रेसले यो स्थिति आउनुमा भाजपा जिम्मेवार रहेको आरोप लगाएको छ ।
कर्नाटकका मुख्यमन्त्री कुमारास्वामी भाग्यवश सत्तामा पुगेका हुन् । भाजपा राज्यको सबभन्दा ठूलो दल बनेको थियो । कांग्रेस दोस्रो स्थानमा अनि जेडीएस तेस्रो स्थानमा थियो । कांग्रेसले आफूभन्दा कम सीट ल्याएको दललाई मुख्यमन्त्री दियो र सरकारमा सहभागी भयो ।
कर्नाटकको राजनीतिक संकटमा भाजपाको महत्त्वाकांक्षाका साथै कांग्रेस नेता पनि जिम्मेवार छन् । सिद्धारमैया मुख्यमन्त्री हुँदा भएको विधानसभा चुनावमा कांग्रेस पछि परेको थियो ।
कांग्रेस र जेडीएसको संख्या जोड्दा बहुमत पुगेकै थियो । तर सिद्धारमैया सरकार चलिरहोस् भन्ने चाहन्थे त ?
तेह्र महिनाको यो सरकार पहिलो दिनदेखि नै अभागी भयो । कुमारास्वामी मुख्यमन्त्री भए पनि सिद्धारमैयाले राजनीति घुमाइरहेका छन् । त्यसैले कुमारास्वामीलाई निकै गाह्रो छ । आमसभाहरूमा उनी सरकार चलाउनुको दुःखको अभिव्यक्ति दिइरहेका हुन्छन् ।
कर्नाटकपछि अब मध्य प्रदेश र राजस्थानको कांग्रेस सरकार पनि संकटमा देखिएको छ । कर्नाटककै जस्तो परिस्थिति ती राज्यहरूमा पनि देखिने सम्भावना छ ।
मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले हनिवार कांग्रेसका केही विधायक आफ्नो सम्पर्कमा रहेको तर तोडफोड गरेर सरकार नबनाउने बताए ।
छत्तीसगढमा कांग्रेसले बहुमत ल्याएकाले त्यहाँ गाह्रो नभएपनि मध्य प्रदेशमा अलिकति बल गर्दा सरकार ढल्ने देखिन्छ । विधायकहरू दल परिवर्तन गर्न तयार छन् ।
गोवामा भाजपा सरकार अल्पमतमा थियो तर अहिले ऊ स्थिर भएको छ । कांग्रेस विधायकले सीधै राजीनामा दिएका थिए । उनीहरू भाजपामा आएर मन्त्री बने ।
अब भारतमा विपक्षीको सरकार धेरै टिक्ने देखिएको छैन । भाजपाको एकछत्र राज देशभरि हुने देखिएको छ । जनताले पनि गठबन्धनको सरकार भन्दा पनि बहुमतको सरकार रुचाइरहेको देखिन्छ ।
एजेन्सी