
डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ (महिनावारी भएको बेलामा सुत्ने ठाउँ) भेटिएको छ ।
बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौं घरमा छाउपडी गोठ भेटिएका हुन् ।
विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन् । धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला घरमा राखे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ बनाइएको बताएका छन् ।
असुरक्षित रहेका यी छाउगोठमा महिनावारी भएका महिलालाई ५/६ दिनसम्म राख्ने गरिन्छ । नगरपालिका सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन् । एक्काइसौं शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावरी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीको गुनासो छ ।
डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महिनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताए ।