
काठमाडौं– सर्लाही गोलीकाण्डबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडानमा कारण मंगलवार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु तथा बालकको मृत्युको विरोधमा शान्तिपूर्ण धर्नामा बसेका सर्लाहीकै सरोजकुमार सिंहको मृत्यु सम्बन्धमा संसदीय छानविनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको पहिलो बैठक अवरूद्ध गरेको थियो ।
गृहमन्त्री रामवदहादुर थापाले पहिलो बैठकमा सरकारको तर्फबाट दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरेको हो ।
दोस्रो बैठक सुचारु गर्नका लागि सभामुख कृष्णबहादुर महराले कांग्रेस र नेकपाका सचेतकहरूसँग परामर्श गरेका थिए । दलहरूसँग परामर्श गर्नुपर्ने भन्दै महराले भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर निर्णय लिने बताएका थिए ।
संसदीय समिति गठन नगरी सदन चलाइए वेल घेर्ने भन्दै कांगेसले चेतावनी दिएपछि प्रतिनिधिसभाको बैठक बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
विप्लव समूहका नेता कुमार पौडेल तथा बालक हत्याको विरोधमा शान्तिपूर्ण धर्नामा बसेका सरोजकुमार सिंहलाई प्रहरीले टोउकोका ताकेर गोली हानेको भन्दै कांग्रेस र राजपाले विरोध जनाउँदै आएका छन् ।