
रसुवा- ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ ।
सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै भित्तामा टाँसिएका र वितरण गरिएका सन्देशमूलक सामग्रीले सवारी नियमसम्बन्धी ज्ञान बढ्दै गएका कारण पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधार आएको उक्त कार्यालयले जनाएको छ ।
सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई गरिएको जरिवानामा समेत कमी हुँदै आएकाले ट्राफिक व्यवस्थापन राम्रो हुँदै आएको यहाँका बासिन्दा बताउँछन् ।
गत वर्ष ७ हजार ६२६ सवारीसाधन कारवाहीमा परेका थिए भने चालू आर्थिक वर्षमा ५ हजार ६५० सवारीसाधान कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
राष्ट्रिय राजमार्गमा सूचीकृत सडकमा भाडाका सवारी साधन गुडाउनुपूर्व यातायात कार्यालयको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था भएकाले सो नियम उल्लङ्घन गर्ने चालकबाट चालू आवमा ४२ लाख ८ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको ट्राफिक प्रहरी इञ्चार्ज रामशरण कुमालले जानकारी दिए ।