तनहुँ – जिल्लाको बन्दीपुर गाउँपालिकाले अतिविपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरेको छ ।
गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी २० घरधुरीलाई सौर्य उपकरण (सोलार) वितरण गरेको हो ।
अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।
थापाका अनुसार बन्दीपुर गाउँपालिका–१, २, ३, ६ लगायतका विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको छ ।
वितरण गरिएको सौर्य उपकरणको मूल्य प्रतिसोलार २१ हजार रुपैयाँ छ । सोलारबाट ४ वटासम्म बत्ती बाल्न पुग्छ । ‘उज्ज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँहरूमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो,’ थापाले भने ।
गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगर लगायतले सोलार पाएपछि घरमा बत्ती बाल्न सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे ।
अहिलेसम्म टुकीको भरमा बत्ती बाल्दै आए पनि सौर्य उपकरण पाएपछि भने घर नै उज्यालो हुने भएको स्थानीय शान्ति चेपाङले बताए । उनले भने, ‘बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था थिएन, गाउँपालिकाले सौर्य उपकरण दियो खुशी लागेको छ ।’