२२ जेठ २०८३, शुक्रबार

पप्पु ठेकेदारको अर्काे बदमासी, कारागार भवन निर्माण अलपत्र

पप्पु ठेकेदारको अर्काे बदमासी, कारागार भवन निर्माण अलपत्र

बाँके – विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ ।

पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ ।

निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ । ३ वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुनलाग्दासमेत चार प्रतिशतमात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ ।

निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको हो ।

हालसम्म ४ प्रतिशत मात्रै काम भएपछि मोबिलाइजेशन वापतको ७ करोड ६ लाख रुपैयाँ फिर्ता लिइएको आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख सुवास बस्नेतले जानकारी दिए । निर्माण कम्पनीको ३ वर्षे ठेक्का सम्झौताको अवधि कात्तिक ४ गते सकिँदैछ । 

३ हजार जना अट्ने क्षमताको निर्माणाधीन कारागारको ५३ करोड रुपैयाँ बजेट रहेकामा पप्पु–रसुवा कन्स्ट्रक्सनले विक्रम संवत् २०७३ कात्तिक ८ गते ३८ करोड ६८ लाख ७९ हजार २ सय ८१ रुपैयाँमा ठेक्का सकार गरेको थियो । कारागारको २५ भवन संरचना बनाइने लक्ष्य रहेपनि हासम्म ५च संरचनामा अत्यन्तै सुस्तगतिमा काम भइरहेकाले पेश्की रकम फिर्ता लिनुपरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

 पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको छ । मानवबस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण शुरू गरिएको थियो । 

अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा खुला कारागार निर्माणको काम शुरू गरिएको थियो । दुवै कारागार निर्माण भएपछि नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्