१२ असार २०८३, शुक्रबार

प्रदुषित पानीका कारण झाडावान्ताका बिरामी बढे

प्रदुषित पानीका कारण झाडावान्ताका बिरामी बढे

चितवन- वर्षात् शुरू भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात/आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा. अग्रहरीले जानकारी दिए । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् । 

दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ । झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गाैलामा समेत असर पर्ने उनले बताए । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्छ ।

सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन् । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्छ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् । जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उनको भनाइ छ ।

बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उनको भनाइ छ । 

तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताए । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्