
काठमाडौं – नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सत्तारुढ दलका नेताहरूबाट विधेयकमा संशोधनको आश्वासनपछि मिडिया काउन्सिल विधेयक विरुद्धको आन्दोलन स्थगित भएको बताएका छन् ।
सडकको मोर्चाबाट आफूहरूको ध्यान सदनतर्फ केन्द्रीत गरेको उनले बताए ।
प्रेस काउन्सिल नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष आचार्यले सत्तारुढ दललाई शंकाको सुविधा दिइएको बताएका हुन् । ‘सडकको मोर्चाबाट सदनतर्फ ध्यान केन्द्रित गरेका छौं, युद्धविराम गरेर वार्ता र संवादको मार्फत निकास खोज्न कोसिस गरिरहेका छौं,’ आचार्यले भने ।
पत्रकार महासंघ र सरोकारवालाले माग गरेअनुसार नै सत्तारुढ दलका जिम्मेवार नेताले विधेयकमा संशोधन हाल्ने आश्वासन दिएको उनले बताए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेलसँग सहमति भएपछि महासंघले मंगलवार आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।
सम्पादक र पत्रकारहरूले विधेयक पारित हुने बेलासम्म महासंघ सजग हुनुपर्ने बताएका थिए ।