वालिङ – ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण गरिएको छ ।
गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका १/१ जना गरी कूल ३८ जनालाई मेशिन हस्तान्तरण गरिएको हो ।
महिलालाई स्वरोजगार र पेशाप्रति दक्ष बनाई आत्मनिर्भर बन्न अभिप्रेरित गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले ३ महिना तालिम प्रदान गरेपश्चात् निःशुल्क सिलाइ मेशिन हस्तान्तरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘विशेषगरी दलित तथा विपन्न महिला दिदीबहिनीलाई सीप सिकाइ आत्मनिर्भर बनाउनका लागि यस ठाउँलाई छनोट गरी तालिमपश्चात् मेशिन हस्तान्तरण गरेका हौं,’ नगर प्रमुख खाँणले भने, ‘सीपसँगै मेशिन हस्तान्तरण गरिएकाले पनि सिलाइकटाइलाई व्यावसायिकतामा ढाल्नका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छु ।’
गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत हामीलाई छनोट गरी तालीम तथा निःशुल्क मेशिन हस्तान्तरणले निक्कै खुशी बनाएको तालीममा सहभागी वालिङ १४ तमादीकी माया नेपालीले बताए । ‘महिला दिदीबहिनीले सीप पाएर मात्रै पनि परिवर्तन हुँदैनथ्यो होला,’ गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत सिलाइकटाइ तालिम संयोजक सरिता विकले भने, ‘यहाँ महिला दिदीबहिनीले तालीमसँगै सीपमा अझै निखारता ल्याउन सिलाइ मेशिन प्राप्त गर्नुभएको छ ।’