०३ साउन २०८३, आइतबार
नेपाल-भेनेजुएला साइनो

भेनेजुएलाका राष्ट्रपति पुत्रको शिरमा ढाकाटोपी, काठमाडौंमा राजनीतिक भेटवार्ता

असार ३०, २०७६
भेनेजुएलाका राष्ट्रपति पुत्रको शिरमा ढाकाटोपी, काठमाडौंमा राजनीतिक भेटवार्ता

काठमाडौं – ल्याटिन अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोका छोरा निकोलास अर्नेस्टो मादुरो यतिबेला काठमाडौंमा छन् ।

शनिवार आफ्ना ३ मन्त्रीसँग सुटुक्क काठमाडौं छिरेका अर्नेस्टोले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेवसँग भेट गरेको समाचार बाहिरिएको भएपनि नेपालका मन्त्री र प्रधानमन्त्रीसँगको भेटको कार्यतालिका भने सार्वजनिक भएको छैन । 

सत्तारूढ नेकपाका युवा संगठनको निमन्त्रणामा अर्नेस्टो नेपाल भ्रमणमा आएको दाबी गरिएको भएपनि झण्डै ६ महिनादेखि राजनीतिक संकट झेलिरहेको भेनेजुएलाको यो स्तरको नेपाल भ्रमण राष्ट्रपति मदुरोको पक्षमा अन्तर्राष्ट्रिय सहमति जुटाउन गरिएको प्रयास हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । 

आइतवार सत्तारूढ दल नेकपाका सचिवालय सदस्य वामदेवसँगको भेटमा अर्नेस्टो नेपाली ढाकाटोपीमा देखिए । १९८७ को अप्रिलमा नेपाल र भेनेजुएलाबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसयता दुवै देशबाट कुनै उच्चस्तरीय राजनीतिक भ्रमण भएका छैनन् । आइतवार भएको अर्नेस्टो–गौतम भेटमा बदलिएको परिस्थितिमा नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेबारे छलफल भएको छलफलमा उपस्थित एक सहभागीले बताए ।

भेनेजुएलामा अमेरिकी हस्तक्षेपका कारण राजनीतिक संकट बढिरहेको भन्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी हस्तक्षेप मान्य नहुने भन्दै विज्ञप्ति जारी गरे । प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमण रहेका बेला प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको पक्षमा विज्ञप्ति जारी गरेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो । 

प्रचण्डको विज्ञप्तिपछि नेपालस्थित अमेरिकी राजदूतले सरकारको आधिकारिक धारणा माग्यो । त्यसलगत्तै परराष्ट्र मन्त्रालयले अध्यक्ष प्रचण्डकै भनाइ सदर गर्दै भेनेजुएला सन्दर्भमा कुनै पनि देशले हस्तक्षेप गर्न नहुने र त्यहाँका जनता आफ्नो फैसला आफै गर्न सक्षम रहेको भन्दै विज्ञप्ति निकाल्यो । विश्वका ठूला शक्तिराष्ट्रहरू सहभागी भएको भेनेजुएला संकटबारे नेपालको परराष्ट्र मन्त्रालयले दिएको वक्तव्यले नेपाल ‘गैरअमेरिकी’ खेमामा उभिएको चर्चा चल्यो ।

भेनेजुएलामा राजनीतिक संकट हल नभइसकेको भएपनि मोटामोटी रूपमा केही मत्थर भएको छ । अमेरिकी हस्तक्षेपको विरुद्धमा रूस, चीन जस्ता शक्तिराष्ट्रहरू उभिएपछि राष्ट्रपति मदुरोलाई केही राहत अनुभव भएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । 

राष्ट्रपति निकोलास मदुरोले आफ्नो देशमा गहिरिएको संकटका बीचमा आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोसिस गरिरहेका छन् । गत माघमा भेनेजुएलाको राष्ट्रिय सभामा विपक्षी नेता हुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । गुवाइदोको उक्त कदमलाई अमेरिकन एलायन्सका केही देशहरू र युरोपका केही देशहरूले समर्थन गरे तर विश्वका शक्तिराष्ट्र मानिने चीन र रूसले भेनेजुएलाको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गरे ‘नराम्रो’ हुने चेतावनी दिएका थिए । 

राष्ट्रपति पुत्र अर्नेस्टोको नेपाल भ्रमणलाई उतिबेला सत्तारूढ दलका अध्यक्ष प्रचण्डले गरेको समर्थनको सम्मान भन्न सकिने नेकपाका एक नेताको भनाइ छ । ‘अन्तर्राष्ट्रिय समर्थन जुटाउने भेनेजुएलाको प्रयासस्वरूप यो भ्रमण भएको अनुमान गर्न सकिन्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्