
काठमाडौं, १३ चैत – कलंकीदेखि कुलेश्वरसम्मको भित्री सडकमा स्थानीय बासिन्दाहरूले गठन गरेको टोल सुधार समाजको सहयोगमा विदेशी लुटेरा पक्राउ परेका छन् ।
लिकमार्ग टोल सुधार समाजले दुई महिनाअघि जोडेको सीसी क्यामेरा फूटेजको सहयोगमा उनीहरू समातिएका हुन् । ठमेलको वैशाली होटलमा एक महिनाअघिदेखि पाँचवटा कोठा बुक गरेर बसेको इरानी ठगहरूको समूह पक्राउ परेको हो । त्यहाँ बस्नेमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी ६ जना अझै फरार रहेका छन् ।
बिहीवार त्यस समूहमध्येका दुईजना लुट्ने मनसायका साथ कुलेश्वर पुगेका थिए । उनीहरूले कुलेश्वरमा रहेको एउटा होलसेल किराना पसल र अर्को होलसेल मदिरा पसलमा पुगेर लुटेका थिए ।
उनीहरूले आफूहरूलाई राजा र लालीगुराँसको फोटो भएको नेपाली एक हजारको नोट चाहिएको बताए । उनीहरूले जहाँ पनि यही शैली अपनाउँथे । उक्त नोट सुन्दर भएका कारण आफूहरूलाई चाहिएको उनीहरू बताउँथे ।
पसलेले सहयोगी मनसायका साथ नोट देखाउँथे । नोट देखाउनको लागि पैसा राखिरहेको ड्रअर खोल्थे । यही बेला पसलेसँग भएको सबै रकम लिएर लुटेराहरू सडकमा रोकेको कारमा चढ्थे । र भागिहाल्थे ।
उनीहरूले यही शैलीमा काठमाडौंमा महिनादिन अघिदेखि चोरिरहेका थिए । यसपल्ट भने उनीहरूले त्यहाँबाट पैसा चोरेर गएपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
लिकमार्ग टोल सुधार समाजले जोडेको सीसी क्यामेरामा उनीहरूले चढेको कारको पहिचान भयो । सोही कार खोज्दै जाँदा उनीहरू ठमेलमा अड्डा जमाएर चोर्न बसेका लुटेरा रहेको थाहा भयो । उनीहरू नेपाली कार भाडामा लिएर बसिरहेका थिए ।
लिकमार्ग टोल सुधार समाजले प्रत्येक चारसय मिटरको फरकमा ६ वटा सीसी क्यामेरा रोखेको छ । सोही क्यामेराको सहयोगमा उनीहरू समातिएका हुन् ।
‘लुटिएका स्थानीयले प्रहरीकोमा निवेदन दिनुभयो, त्यसपछि प्रहरीले अनुसन्धान गरेको थियो,’ लिकमार्ग टोल सुधार समितिका अध्यक्ष श्यामकृष्ण बस्नेतले भने, ‘हामीले कलंकीदेखि कुलेश्वरसम्मको सबै ठाउँमा सीसी क्यामेरा जडान गर्ने सोच राखेका छौं ।’
कुलेश्वरमा लुट्नका लागि दुईजना गएका थिए । ‘कुलेश्वरमा आएका सहित ६ जना पक्राउ परिसकेका छन्,’ कालीमाटी प्रहरीका डीएसपी नवराज अधिकारीले भने, ‘काठमाडौं, भक्तपुर र ललितपुरका सबै ठाउँमा उनीहरू लुटपाटमा सक्रिय रहेको भेटियो ।’ अधिकारीले सीसी क्यामेराकै सहयोगमा उनीहरूलाई पक्राउ गर्न सफल भएको बताए ।
साथै उनले थप अनुसन्धान र कारवाहीका लागि उनीहरूलाई महानगरीय प्रहरी परिसरमा पठाउने तयारी भइरहेको समेत जानकारी दिए ।
लिकमार्ग टोल सुधार समाज व्यवस्थित टोल निर्माणको लागि गठन भएको हो । समितिले सडकमा सौर्यबत्ती, सीसी क्यामेरा राखेको छ भने सरसफाइमा समेत सक्रिय रहेको छ ।
समितिका अध्यक्ष बस्नेतका अनुसार सो टोलमा ७० वटा सोलार बत्ती राख्ने लक्ष्य राखिएको छ भने छोटो छोटो दूरीमा सीसी क्यामेरा राख्ने लक्ष्य राखिएको छ ।
‘महानगरपालिकाले यो वर्ष ५० वटा सोलार बत्ती दिने सहमति दिएको छ,’ उनले भने, ‘यसभन्दा अघि नै केही जडान गरेका छौं । बत्तीको लक्ष्य चाहिँ चाँडै नै पूरा हुन्छ ।’
सीसी क्यामेरा जडानको लागि समितिले स्थानीयहरूबाट साढे चार लाख रुपैयाँ जम्मा गरिसकेको छ । यसभन्दा अघि अढाई लाख खर्च गरेर सीसी क्यामेरा र सोलार बत्ती जडान गरिएको हो ।
अहिले टोल सुधार समाजमा डेढसयभन्दा बढी स्थानीय आबद्ध भइसकेका छन् । महानगरपालिकामा १५ प्रतिशत रकम जम्मा गरेर ८५ प्रतिशत अनुदानमा सोलार बत्ती ल्याउन थालिएको हो ।

समाजले घरदैलो कार्यक्रम गरेर टोललाई सफा र व्यवस्थित बनाउन अनुरोध गरेको छ । प्रत्येक घरमा फूलका बिरुवा रोप्नका लागि अनुरोध गरिएको छ । वनभोज, टोलभेला लगायतका काम सम्पन्न भएका छन् ।
साथै सरसफाइ र फोहोर मैला व्यवस्थापनमा पनि समाज सक्रिय रहेको छ । वाग्मती सरसफाइ अभियानमा पनि समितिले सहभागिता जनाइरहेको छ ।
समाजले चक्रपथबाट रविभवनसम्मको पुरानो बाटोसमेत विस्तार गर्ने योजना राखेको छ । समितिका सल्लाहकार तथा परराष्ट्र मन्त्रालयका उप सचिव डोरनाथ अर्यालको अगुवाइमा यी कामहरू भइरहेको अध्यक्ष बस्नेतले बताए । अर्याल नेतृत्वमा समिति गठन भएको हो ।
गत असारमा यो समिति गठन भएको थियो । समाजले टेलिफोन र बिजुलीका यत्रतत्र छरिएका तार तथा पोलको व्यवस्थापन समेत गरिरहेको छ । ट्राफिक व्यवस्थापन, सडकको निर्माण तथा मर्मत लगायतका काम पनि समाजले गरिरहेको छ ।
निकट भविष्यमै सडकका केही ठाउँमा स्पीडब्रेकर राखिने र टोलवासी हरेकको घर आँगन, पर्खाल र कौसीमा एकैखालका फूलहरू रोपी यो टोलको नयाँ पहिचान दिने अभियान चलाइएको अध्यक्ष बस्नेतले बताए ।