२२ जेठ २०८३, शुक्रबार

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन
प्रतिकात्मक तस्वीर

काठमाडौं – पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरू गरेको छ ।

नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ ।


पहिलो चरणमा काठमाडौंका ४ क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिने छ ।

नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा  छन् । साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन् ।    

प्रत्येका आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ । ठूला क्यासिनोले ४ करोड रुपैयाँ र साना (मिनी) क्यासिनोले १ करोड रुपैयाँ वार्षिक राजश्व बुझाउनुपर्छ । त्यस्तै नवीकरण दस्तुरबापत ठूला क्यासिनोले १ करोड रुपैयाँ र साना क्यासिनोले ५० लाख रुपैयाँ बुझाउनुपर्छ । ठूला क्यासिनोको निवेदन दस्तुर ५ लाख रुपैयाँ र सानाको २ लाख रुपैयाँ लाग्ने विभागले जनाएको छ ।

विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजस्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो । अघिल्लो आर्थिक वर्षमा विभागले १ अर्ब २० करोड रुपैयाँ राजश्व असुल गरेको थियो । क्यासिनोबाट मात्रै ४५ करोड रुपैयाँभन्दा बढी राजश्व जम्मा हुने गरेको छ । 

क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एशोसिएशन अफ नेपाल (हान) का प्रतिनिधि रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्