
काठमाडौं – अमेरिकाको सान फ्रान्सिस्को बे नजिक सातजना माझीलाई एक शार्क माछाले बल्छी मुखमा च्यापेर डुंगा सहित दुई माइल तानेको छ ।
माझीहरूले सेभेनगिल र सूपफिन शार्क समात्न खोजेका थिए । त्यतिखेर एक माझी जोई गामेजले बल्छी निकै तानिएको पाए ।
निकै ठूलो सेभेनगिल शार्क फसेको भन्ठानेर माझीहरूले एंकर ताने र शार्क तान्नका लागि डुंगा घचेडिन दिए ।
२६ फीट लामो डुंगालाई एक घन्टासम्म पानीमा घिसारेपछि शार्क पानीबाहिर देखियो ।
सान फ्रान्सिस्को गेटसँग कुरा गर्दै गामेजले भने, ‘सबैजना स्तब्ध थिए । शार्कलाई नियन्त्रणमा लिन हामी सातैजनाले प्रयास गर्नुपरेको थियो ।’
फूटेजमा ग्रेट ह्वाइट शार्क समात्न पाउँदा माझीहरूको उत्साह देख्न पाइन्थ्यो ।
सात फीट लामो ग्रेट ह्वाइट पानीको सतहमा आउँदा उनीहरू खुशी भएर चिच्याउँछन् ।
उक्त समूहले शार्कलाई मुक्त गर्ने निर्णय गर्छ र फिशिङ रडको लाइन काटिदिन्छ । शार्क चाहिँ बल्छीको चारा लिएर अन्तै जान्छ ।
ग्रेट ह्वाइट शार्क संरक्षित प्रजाति भएकाले त्यसलाई समात्नु गैरकानूनी मानिन्छ ।
एजेन्सी