काठमाडौं – हङकङको शा टिन जिल्लामा चीनको विवादास्पद सुपूर्दगी विधेयकको विरोध उग्र हुँदै गएको छ ।
प्रहरी र प्रदर्शनकारीहरूबीच भएको झडपमा ११ प्रहरी र अन्य थुप्रै मानिस घाइते भएका छन् । तीसभन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।
आरटीएचके ब्रोडकास्टरका अनुसार, आइतवार प्रहरीका तर्फबाट प्रदर्शनकारीहरूलाई सडकबाट हटाउन कोशिश गरिएपछि न्यु टाउन प्लाजा शपिङ मलमा झडप भएको थियो ।
प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्नका लागि लट्ठी र खुर्सानीको स्प्रे प्रयोग गरेको थियो । यसक्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि विभिन्न वस्तु फ्याँके । प्रहरीले ३७ जना प्रदर्शनकारीलाई हिरासतमा लिएको छ ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपूर्दगी विधेयकलाई मृत घोषित गरेको भए पनि विरोध प्रदर्शन थामिने लक्षण देखिएको छैन ।
एजेन्सी