०६ असार २०८३, शनिबार

गाउँ नै 'भैंसीमय' बन्दै

साउन ३, २०७६
गाउँ नै 'भैंसीमय' बन्दै

सुर्खेत - बराहताल गाउँपालिका वडा नं. ५ को सुन्द्वारी गाउँ भैंसीमय भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६० वटा भैंसी वितरण गरेपछि गाउँ नै भैंसीमय भएको हो ।

स्थानीय धनसरी धमालाले पहिले एक वटा भैंसी पालिरहेकी थिइन् । अहिले प्रदेश सरकारबाट थप २ वटा भैंसी पाएकी छिन् । प्रदेश सरकारले भैंसी दिएपछि आम्दानी बढेको उनको भनाइ छ ।

‘एक छाकमा अहिले १२ लिटर दूध उत्पादन भइरहेको छ,'  उनले लोकान्तरसँग कुरा गर्दै भनिन्, ‘बिहानको दूध बजार बेच्छौं । ४८ रुपैंया प्रतिलिटर दूध बेच्दै आइरहेका छौं ।’

 सुन्द्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले १ भैंसी पालेका कृषकलाई मात्रै थप २ भैंसी दिइएको बताए । ‘हामीले गाउँलाई नै भैंसीमय बनाउन खोजिरहेका छौं,' उनी भन्छन्, ‘पहिलो चरणमा ६० वटा भैंसी वितरण गर्यौं ।’

अहिले उक्त गाउँमा १०८ वटा भैंसी छन् । कृषकले दैनिक १ सय ५० लिटर भन्दा बढी दूध वीरेन्द्रनगरमा पठाइरहेका छन् । जम्मा ३० घरधुरी रहेको सुन्द्वारी बड्डिचौर नजिकै पर्छ ।

‘भैंसीको स्रोत केन्द्र नै खोल्ने योजनामा हामी छौं,' सुवेदी भन्छन्, ‘दुग्ध चिस्यान केन्द्र खोलेर आयआर्जन वृद्धि गर्ने योजनासहित हामी अघि बढिरहेका छौं ।’

यता बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत सुन्द्वारीलाई भैंसी पालन क्षेत्रका रूपमा विकास गर्न लागिएको बताउँछन् । ‘प्रदेश सरकारसँगको सहकार्यमा हामीले सुन्द्वारीलाई भैंसीको पकेट क्षेत्रको रूपमा विकास गर्न लागेका छौं,' लोकान्तरसँग कुरा गर्दै अध्यक्ष बस्नेतले भने, ‘आगामी दिनमा भैंसी पालन व्यवसायलाई थप व्यवसायिक बनाउँदै अघि बढने संकल्प हाम्रो छ ।’

उसो त प्रदेश सरकार र स्थानीय सरकारबीच गहिरो खाडल बनिरहेको अवस्थामा बराहतालमा भने त्यस्तो छैन । ‘हामी सबैको सपना नै समृद्धि हो,' अध्यक्ष बस्नेत भन्छन्, ‘सबै मिलेर नै गाउँ बनाउने हो । प्रदेश सरकारसँग सहकार्य गरेर गाउँपालिका अघि बढ्छ र हामी पनि अघि बढ्नेछौं ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कृषिबाट मात्रै प्रदेशको समृद्धि सम्भव रहेको बताउँछन् । ‘नेपालको विकास र समृद्धिका लागि अरु भन्दा कृषि नै महत्वपूर्ण क्षेत्र हो,' भारी भन्छन्, ‘त्यहि कारण मन्त्रालयले यो वर्ष भैंसी वितरण गरेको हो ।’

उनले दैलेख र सुर्खेतमा ३ सय ३४ वटा भैंसी तथा ३४ वटा गाई वितरण गरिएको बताए । ‘दूधमा कर्णालीलाई आत्मनिर्भर बनाउने र कृषि पेशातर्फ जनतालाई आकर्षित गर्ने योजना हाम्रो हो,'  उनी भन्छन्, ‘यो वर्ष सामूहिक र व्यक्तिगत रूपमा भैंसी वितरण गरेका छौं । आगामी वर्ष सामुहिक र व्यक्तिगत रूपमा पालन गरिएका भैंसीको परिक्षण गरेर सोही अनुसार थप गाई भैंसी वितरण गर्नेछौं ।’

मन्त्री विमला केसीले पनि कृषिबाट नै कर्णाली समृद्ध हुने बताउँछिन् । ‘हामीसँग पर्याप्त मात्रामा जंगल छ, घाँस छ,'  उनी भन्छिन्, ‘खेर गइरहेको घाँसलाई सदुपयोग गर्नसके कृषकको आयस्तर पनि बढ्ने र विदेश जाने क्रम पनि रोकिने अपेक्षा मन्त्रालयको छ ।’ उनले भारतको कालापहाड जाने क्रमलाई रोक्न पनि गाई भैंसी वितरण गर्ने कार्य शुरू गरिएको जानकारी दिईन् ।

salt training

कमेन्ट गर्नुहोस्