
काठमाडौं – अत्यधिक वर्षाका कारण नदीमा जलस्तर बढेपछि कम्तीमा चारवटा किनार भत्केपछि दर्जनौं गाउँ डुबानमा परेका छन् ।
घर छोडेर पलयान हुने मानिसको संख्या रातभरिमा बढेर चार लाख पुगेको अधिकारीहरूले शुक्रवार जानकारी दिए । यो हालैका वर्षमा सबभन्दा खराब बाढी हो ।
भारी वर्षा र नदीको बाढीले बंगलादेशको उत्तरी र उत्तरपश्चिमी भागका २३ जिल्लालाई असर पारेको छ । गत सातादेखि आएको बाढीका कारण कम्तीमा ३० मानिस मरेको अधिकारीहरूले बताएका छन् ।
सरकारले एक हजारभन्दा बढी अस्थायी शिविर खोलेको छ । तर गहिरो पानी र सञ्चारसुविधाको अभावका कारण धेरै मानिस ती शिविरमा पुग्न नसकेको बाढीग्रस्त जिल्ला बोगराकी एक अधिकारी रेहाना इस्लामले बताइन् ।
ब्रह्मपुत्र नदीका तीन किनार बिहीवार राति भत्केपछि बाढी गाउँ पसेको हो ।
एजेन्सी