काठमाडौं, १३ चैत– गत मंसिर १५ गते १६०८ को विन्दुमा रहेको शेयर बजार त्यसपछिका दिनमा भने लगातारजसो ओरालो लागिरह्यो ।
फागुन १ गते आइतवारसम्म पुग्दा शेयर बजार १२५२ को विन्दुमा पुगेको थियो । यो चालु आर्थिक वर्ष (२०७३/७४) मा शेयर बजारको सबैभन्दा न्यून विन्दु हो ।
१२५२ को विन्दुबाट फर्किएको शेयर बजारमा पछिल्लो समय भने दोहोरो अंकको वृद्धि देखिन्छ । खासगरी चैत महिनाको शुरुवातसँगै शेयर बजारमा उत्साह छाएको छ । लगानीकर्ताको भनाइअनुसार अहिले बजारको स्थिति ‘उत्साहजनक’ नै छ ।
बैंकमा तरलता बढेपछि सकारात्मक प्रभावपुस महिनायता बैंकहरूमा बढेको तरलता (लगानीयोग्य पूँजी)को अभाव अब बिस्तारै कम हुँदै गएको छ । खासगरी विकास निर्माणका काममा तीव्रता बढेपछि बैंकमा तरलता अभाव घट्दै गएको हो ।
चैत लागेपछि विकास निर्माणका कामले तीव्रता पाउने (नेपाली परम्परा)ले गर्दा सामान्यतया चैतदेखि असार मसान्तसम्मको समयलाई शेयर बजारका लगानीकर्ताले ‘हरियो सिजन’ ठान्छन् । र अहिलेको बजार बढ्नुमा पनि यही हरियो सिजनको मनोविज्ञानले काम गरेको अनुमान गर्न सकिन्छ ।
शेयर विश्लेषक दीपेन्द्र अग्रवाल पनि पूँजी बजारमा ‘वसन्तको बहार’ आएको बताउँछन् । खासगरी राष्ट्र बैंकले शेयरमा प्रवाह हुने ऋणलाई ‘साधारण कर्जा’कै समूहमा राख्न निर्देशन जारी गरेपछि शेयर बजार बढेको उनको विश्लेषण छ ।

‘साना लगानीकर्ताहरूले त पहिले पनि लगानी गरिरहेका थिए । तर अहिले ठूला लगानीकर्ता पनि बजारमा फर्किएका छन्,’ अग्रवाल भन्छन्, ‘अहिलेको बजारमा ठूला लगानीकर्ता आगमन हुँदाको प्रभाव देखिएको हो ।’
पछिल्लो समय सकारात्मक वातावरण बन्दै गएकाले बजारले नयाँ रेकर्ड कायम गर्ने उनको भनाइ छ ।
शेयर बजार परिसूचक नेप्सेले २०७३ साउन १२ गते (बुधवार)का दिन हालसम्मकै उच्च १८८१.४५ विन्दुको रेकर्ड बनाएको थियो । शेयर विश्लेषक अग्रवाल अबको शेयर बजारले उक्त रेकर्ड तोड्ने दाबी गर्छन् ।
‘चुनावी वातावरणले पनि बजारलाई धेरै प्रभावित गर्छ । अहिलेको अवस्थामा चुनावी माहोलले पनि लगानीकर्ता हौसिएका छन्,’ अग्रवाल भन्छन्, ‘त्यसैले शेयरबजारले नयाँ रेकर्ड कायम गर्ने सम्भावना छ ।’
निर्वाचन प्रयोजनका लागि सरकारले गर्ने खर्च र प्रचारप्रसारमा दलहरूले गर्ने खर्चका हिसाबले अबको एक महिना (३१ वैशाख) सम्म झन्डै १५ अर्ब रुपैयाँ बजारमा आउनेछ । र जसको करीब ३० प्रतिशत हिस्सा शेयर बजारमा आउनसक्ने विश्लेषकहरूको अनुमान छ ।
लगानीकर्तामा उत्साहमंसिरको मध्यमा शेयर बजारमा गिरावट आउँदा धेरै लगानीकर्ताले त्यसलाई करेक्सनको रूपमा लिएका थिए । तर बजार लगातार ओरालो लाग्दा भने धेरै लगानीकर्ता बजारबाटै विस्थापित हुनपुगे ।
.jpeg?1490525468220)
करीब चार महिनापछि बजारमा सुधार आउँदा अहिले लगानीकर्तामा पनि उत्साह छाएको छ । खासगरी अहिले बैंकबाट ऋण लिएर बजारमा लगानी गर्नेहरूका दिन फर्किएका छन् । र धेरैजसो लगानीकर्ता अहिले कम फाइदा खाएर भएपनि ‘प्रोफिट सेभ’ गरेर शेयर बिक्री गर्ने सोचमा छन् ।
पूँजी बजारका लगानीकर्ता छाटेलाल रौनियार अहिलेको अवस्थामा होल्ड गर्नेहरूभन्दा बिक्री गरेर फाइदा जम्मा गर्नेको संख्या बढी रहेको बताउँछन् । जसकारण अहिले पूँजी बजारका कारोबार पनि औसत दैनिक ५० प्रतिशतका दरले बढिरहेको उनको भनाइ छ ।
अबको बजारमा सामान्य ‘करेक्सन’ आएपनि ठूलो गिरावट भने नआउने उनको अनुमान छ । बैंकिङ र जलविद्युत् समूहका लगानीकर्ताले अरूको भन्दा बढी कमाइ गर्ने सिजन आएको उनी बताउँछन् ।