३१ जेठ २०८३, आइतबार

प्रहरीलाई गोली चलाउने पेस्तोलसहित पक्राउ

प्रहरीलाई गोली चलाउने पेस्तोलसहित पक्राउ

मकवानपुर- मकवानपुर प्रहरीले पेस्तोल र लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आइतवार सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सूचीमा रहेको र पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । 

लागूऔषध कारोवारीको नाइकेका रूपमा स्याङ्तानले समूह बनाएर गाँजाको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत लामो समयदेखि राजमार्गमा डकैती र लागूऔषधको कारोबार गर्ने स्याङतान पाँच वर्षअघि काठमाडौंमा १०० केजी गाँजासहित पक्राउ परेर तीन वर्षभन्दा बढी जेल सजाय काटिसकेका व्यक्ति हुन् ।

राक्सिराङका अन्य गाँजा कारोबारीलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने स्याङतानलाई मकवानपुर प्रहरीले निकै नै लामो प्रयासपछि पक्राउ गरेको सिंहको भनाइ छ । स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई देख्नासाथ आफूसँग भएको पेस्तोलबाट गोली चलाएको उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका प्रमुख प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । 

तत्काल प्रहरीले जवाफी फायर गरेपछि उनीसँग भएका अरू साथी भागेको र उनलाई पक्राउ गरिएको बुढाथोकीको भनाइ छ । विगतमा पनि स्याङतानले गाँजा ओसारपसार गर्ने गरेको र गोली चलाउँदै भाग्ने गरेको प्रहरीको भनाइ छ । प्रहरी र स्याङतान समूहबीच मकवानपुरको मनहरीमा गएराति गोली हानाहान भएको थियो । स्याङतानलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएको प्रहरी उपरीक्षक सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्