
काठमाडौं – युरोपेली देश बुल्गेरियाको कर कार्यालयबाट ५० लाखभन्दा बढी जनताको रेकर्ड ह्याकरहरूले सार्वजनिक गरिदिएका छन् ।
जम्मा ७० लाख जनसंख्या भएको देशमा यो स्तरको ह्याकिङ हुनु भनेको लगभग सबै कामकाजी मानिसको जानकारी ह्याक हुनु हो ।
‘हामीहरू सबै रिसाउनुपर्छ । गोप्य सूचना सबैका लागि निःशुल्क उपलब्ध भएको छ । बुल्गेरियाका धेरैलाई यो फाइल उपलब्ध छ र बुल्गेरियामा मात्र यो सीमित छैन जस्तो लाग्छ,’ ब्लगर तथा राजनीतिक विश्लेषक आसेन जेनोभले बताए । उनले चोरिएका फाइलहरू अन्लाइन भेटेपछि आफ्नो गोप्य डेटा चुहिएको थाहा पाए ।
यो असाधारण आक्रमण हो तर अद्वितीय भने हैन ।
सरकारी डेटाबेस ह्याकरहरूका लागि महको भाँडो जस्तो हो । डेटाबेसमा सूचनाको ठूलो खानी हुन्छ र त्यो आगामी निकै वर्षका लागि उपयोगी हुने विज्ञहरू बताउँछन् ।
पहिलापहिला उच्च क्षमतावान ह्याकरहरूले डेटा ह्याक गर्थे । तर अहिले आईटी सिस्टममा पस्नका लागि योजनाबद्ध कारावही चलाउनुपर्दैन । ह्याकिङ औजार र मालवेयर डार्क वेबमा उपलब्ध छ र यसबाट सिकारु ह्याकरलाई पनि गहिरो क्षति पुर्याउन सहयता गर्छ ।
युरोपेली संघमा पोहोर साल कठोर डेटा सुरक्षा कानून लागू गरिएको थियो । निजी डेटा संकलन र भण्डारण गर्ने जोकोहीलाई यसले कठोर सजायको व्यवस्था गरेको छ । डेटा व्यवस्थापन नगर्नेलाई पनि यसले भारी जरिवानाको व्यवस्था गरिएको छ । यसले गर्दा बुल्गेरियाली सरकारले पनि डेटा ह्याकका लागि जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
सीएनएनबाट