०५ साउन २०८३, मंगलबार
मुख्य समाचार

१५ जिल्ला र ६ महानगरमा नेकपाले सह–इन्चार्ज तोकेन, नागढुङ्गाबाट दुई किलो सुन बरामद

१५ जिल्ला र ६ महानगरमा नेकपाले सह–इन्चार्ज तोकेन, नागढुङ्गाबाट दुई किलो सुन बरामद

काठमाडौँ–सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साङ्गठनिक एकीकरणका बाँकी कामलाई पूर्णता दिने विषयमा भएको छलफलमा ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्गो लागेको जानकारी दिए । 

    उनले आउँदो मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने सचिवालयको बैठकले बाँकी विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास सङ्गठनको एकीकरणको टुङ्गो लगाइने जानकारी दिए । 

    उनले आइतबार बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट निर्णयको विवरण सार्वजनिक गरिने बताए ।  उक्त विषय स्थायी समिति र केन्द्रीय समितिको बैठकमा समेत प्रस्तुत गरिने जानकारी दिए । 
 
    उनले दुई साबिक पार्टीको इन्चार्जहरुकै आधारमा इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाइएको उल्लेख गरे ।  राजनीतिक प्रतिवेदन भने प्रकाशनका लागि प्रेसमा गइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 
मन्त्री र मुख्यमन्त्रीसमेत जिल्ला इन्चार्ज

नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज तोकिएका छन् । यस्तै भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा जिल्ला इन्चार्ज तोकिएकी छिन् ।

यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज तोकिएका छन् । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।  सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज तोकिएका छन् । 

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल धादिङ इन्चार्ज तोकिँदा प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले पाँचथर इन्चार्जको भूमिका पाएका छन् ।  यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पनि इन्चार्ज तोकिएका छन् । 

पन्ध्र जिल्ला र छ महानगरमा इन्चार्ज मात्रै 

नेकपाले पन्ध्र जिल्ला र छ महानगरमा इन्चार्ज मात्रै तोकेको छ । त्यसमा ताप्लेजुङ भाष्कर काफ्ले, इलाम धीरेन्द्र शर्मा, नुवाकोट महेन्द्रबहादुर पाण्डे, काभ्रेपलाञ्चोक बाँस्कोटा, म्याग्दी भुपेन्द्रबहादुर थापा, मुस्ताङ श्रीमाया थकाली, नवलपरासी पश्चिम वैजनाथ चौधरी, गुल्मी दिनेश पन्थी, प्यूठान कृष्णध्वज खड्का, कालीकोट शाही, हुम्ला विजय भण्डारी, डोल्पा हंसबहादुर शाही, दार्चुला गणेश ठगुन्ना, सप्तरी रामप्रीत पासवान र ओखलढुङ्गामा यज्ञराज सुनवारले इन्चार्जको जिम्मेवारी पाएका छन् । 

यस्तै महानगरपालिकाहरु वीरगञ्जमा दिनेश राई, भरतपुरमा रेणु दाहाल, ललितपुरमा सुुशीला नेपाल, काठमाडौँमा जीवनराम श्रेष्ठ, पोखरामा मानबहादुर जिसी र विराटनगरमा इन्चार्जका रुपमा शिवकुमार मण्डल तोकिएका छन् । 

सिरहामा दश सहइन्चार्ज

नेकपाले २२ जिल्लामा तीनभन्दा बढी सहइन्चार्ज तोकिएको छ । सिरहामा सबैभन्दा बढी १० जना सहइन्चार्ज तोकिएको छ ।  काठमाडौँ, धनुषा र दाङमा नौ÷नौ जना सहइन्चार्ज रहेका छन् । कैलालीमा सात, महोत्तरीमा छ, कञ्चनपुर र सुनसरीमा पाँच÷पाँच तथा कास्की र सर्लाहीमा चार÷चार जना सहइन्चार्ज छन् । 

यस्तै झापा, मोरङ, खोटाङ, रौतहट, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, रुपन्देही, बाँके र जाजरकोटमा तीन÷तीन जना सहइन्चार्ज तोकिएको छ । 

सात जिल्लामा महिला इन्चार्ज

नेकपाले सात जिल्लामा महिला इन्चार्ज तोकेको छ । छमध्ये दुई महानगरपालिकाले महिला इन्चार्ज पायो । दोलखामा भने इन्चार्ज र सहइन्चार्ज दुवै महिला छन् । 

दोलखामा, देवी खड्का इन्चार्ज र रचना खड्का सहइन्चार्ज छन् ।  यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज तोकिएका छन् ।

ह्वासिङ सिमेन्टको सम्झौता रद्द गर्न सुझाव

प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले ह्वासिङ सिमेन्ट कम्पनीलाई प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लिखित सर्त पालना गर्न तथा सोको पालना भए÷नभएको नियमित अनुगमन र मूल्याङ्कन गर्न उद्योग विभागलाई निर्देशन दिन सुझाव दिएको छ । 

समितिको असोज १८ गतेको निर्णयअनुसार सांसद लेखराज भट्टको अध्यक्षतामा गठित उपसमितिले बेनिघाट राराङ गाउँपालिकास्थित ह्वासिङ् सिमेन्ट नारायणी प्रालि र मलेखु खोला किनारमा निर्माणाधीन सडकका विषयमा गरेको अध्ययन प्रतिवेदनमा सिमेन्ट कारखाना र निर्माणाधीन सडकले बर्खायाममा खोलाको धार परिवर्तन भएर हुनसक्ने क्षतिको दीर्घकालीन समाधानको खोजी गर्न उद्योग र सरोकारवालालाई निर्देशन दिनुपर्ने खाँचो औँल्याइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय सरकार ऐनको परिधिबाहिर गएर बेनीघाट रोराङ गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र नपर्ने सार्वजनिक जग्गा भाडामा दिने उद्देश्यले बनाएको सरकारी तथा सार्वजनिक जग्गा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७५ खारेज गर्न तथा उक्त सिमेन्टलाई ५० वर्षसम्मका लागि भाडामा दिन गरिएको सम्झौता रद्द गर्न र सो कार्यमा संलग्न पदाधिकारीलाई कारवाही गर्न निर्देशन दिने ।’

सिमेन्ट उद्योगलाई लक्षित गरी सडक निर्माण गर्न तयार गरेको डिजाइन तथा डिपिआरसमेत सम्बन्धित निकायबाट स्वीकृत भएको नपाइएको जनाउँदै उपसमितिले अनाधिकृत सडक निर्माणमा संलग्न पदाधिकारी तथा लगानी गर्न कम्पनीलाई कानूनी कारवाही गर्न र सडकको डिपिआर अनुमोदन गरी खोलाको मापदण्ड छोडेर मात्र सडक निर्माण गराउने निर्देशन दिन सुझाव दिएको छ ।

सिमेन्ट उद्योगको विस्तृत इञ्जिनीयरिङ सर्भे, विस्तृत डिजाइन र त्यसको लागत अनुमानको फेहरिस्त समितिमा पेश नभएकामा सोको माग गरी विशेषज्ञबाट अध्ययन गराउन पनि उपसमितिले सुझाव दिएको छ । धादिङको बेनिघाट रोराङ र गजुरी तथा मकवानपुरको राक्सिराङ गाउँपालिका उद्योगको प्रदूषणबाट प्रभावित हुने भएकाले तीन वटै स्थानीय निकायलाई रोयल्टीलगायत अन्य कर तथा राजश्व, सेवासुविधा बाँडफाँट गर्ने व्यवस्था हुन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

मेची राजमार्ग आंशिकरुपमा सञ्चालन
पहिरो झरेपछि अवरुद्ध बनेको मेची राजमार्गको राँके–फिदिम खण्ड आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि आंशिक रुपमा खुलेको हो । प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रुपमा सडक खुलेको हो । यद्यपि सडकभन्दा माथि अझै ठूलो परिमाणमा पहिरो रहेकाले विशेष सतर्कताका साथ सवारी आवत–जावतको व्यवस्था मिलाइएको प्रजिअ वस्तीले बताए । 

राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन् । 
 राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्नुहुने राजपाका संयोजक अनिलकुमार झाले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।  राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।

शेयर बजार 
साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ ।
 
    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए ।
 
    स्टकका अनुसार आइतबार कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको् मात्रै शेयर वृद्धि भएको छ । त्यसमा वित्त ०.८४ र अन्य २.८३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ २.९५, होटल १४.४८, विकास बैंक ९.२७, जलविद्युत् ९.६७, निर्जीवन बीमा १३.०५, उत्पादन ३०.६, लघुवित्त ०.१, जीवन बीमा ३७.३३, सामूहिक ०.०४ बिन्दुले घटेको छ ।
 
    स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु एक करोड ५८ लाख ५६ हजार ६८५, नबिल बैंक रु एक करोड ५३ लाख ७३ हजार ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४६ लाख ८५ हजार १४९ र प्रभु बैंकको रु एक करोड २० लाख २५ हजार ४२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

गुठी संस्थानसँग जानकारी माग

    राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले गुठी संस्थानसँग सांस्कृतिक सरोकारका विषयमा १७ बुँदे जानकारी माग गरेको छ ।

    संस्थानले सञ्चालन गर्ने गरेका जात्रा–पर्व एवं त्यससँग सम्बन्धित सम्पत्ति विवरण अध्ययन प्रयोजनको लागि भन्दै समितिले माग गरेको हो । त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयमा समितिका संयोजक गणपतिलाल श्रेष्ठले आइतबार अध्यक्ष मीनराज चौधरीलाई मागपत्र बुझाउँदै जानकारी माग गरेका छन् । 

    विसं २०२९ मा गुठी संस्थानको नाममा रहेको राज र छुट गुठी जग्गाको कित्ता नं, क्षेत्रफल र कूल सङ्ख्या, २०२९ सालमा गुठी संस्थाबाट सङ्कलित रकम र खर्च रकम, मालपोतमा राज गुठीको सम्पत्तिको रुपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागि प्रयोग भइरहेको छ भन्ने जानकारी माग गर्दै पत्र बुझाएको संयोजक श्रेष्ठले बताए । 

    चार जना पक्राउ

    महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ वर्र्षीय फुर्साङ लामा र तिमाल–९ का २४ वर्षीय दावा लामा रहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो । उनीहरु मोटरसाइकलको नक्कली ब्लुबुकसहित पक्राउ परेका हुन् । 

    यस्तै प्रहरीले मध्यपुरथिमि–१ लोकन्थलीबाट हराएको बा ७ प ५४७१ नं को मोटरसाइकलसहित गाईघाट घर भई हाल ललितपुरको टिकाथली बस्ने १९ वर्षीय दीपक थापामगर र सिन्धुपाल्चोक तौथली घर भई हाल ललितपुरको टिकाथली बस्ने २१ वर्षीय कुमार नेपाललाई पक्राउ गरेको छ ।

    यसैगरी प्रहरीले मध्यपुरथिमि–४ क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० नं को बसमा यात्रुको झोला लुटेर भाग्दै गरेका ओखलढुङ्गाको चम्पादेवी–१ का २१ वर्षीय गोपाल कार्कीलाई पक्राउ गरेको छ । 
‘काङ्ग्रेस संसद् खोल्नुपर्छ भन्ने पक्षमा’ 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले बाढीपहिरोका कारण मुलुक गम्भीर सङ्कटमा रहेको बेला संसद् बन्द गर्ने सरकारको कदम गलत भएको बताएका छन् । उनले प्रभावितको बारेमा कुरा राख्ने थलो नै संसद् भएकाले खोल्नुपर्ने बताए । 

    काठमाडौँमा आइतबार आयोजित साक्षात्कारमा नेता विश्वकर्माले काङ्ग्रेस संसद् खोल्ने पक्षमा रहेको बताए । 

दुई किलो सुनसहित पक्राउ 

    काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६५२ नंको यात्रुवाहक बस जाँच गर्ने क्रममा रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी घर भएका भीमबहादुर तामाङ पक्राउ परेका हुन् । 

    कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा दुई किलो सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । 
 विशेष सूचनाका आधारमा परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गए राति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा गाडी जाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङ सुनसहित पक्राउ परेका हुन् । तामाङलाई आवश्यक कारवाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्