काठमाडौं – वेस्ट इन्डीजको भ्रमणका लागि टीम इन्डियाको घोषणा गरिँदा महेन्द्र सिंह धोनीलाई राखिएको छैन ।
धोनी आराम गरिरहेका छन् । उनको स्थानमा युवा क्रिकेटर ऋषभ पन्तलाई तीनै फर्म्याटका लागि छानिएको छ । सेलेक्टरहरूले यथाशक्य छिटो धोनीको रिप्लेसमेन्ट खोजिरहेका छन् ।
चीफ सेलेक्टर एमएसके प्रसादले आगामी वर्ष हुने टी२० विश्वकपको सोच राखेर पन्तलाई एकदिवसीय, टी२० र टेस्टमा राखेको हुनुपर्छ । प्रसादले आइतवार धोनी र पन्तको भविष्यका विषयमा पनि चर्चा गरेका थिए ।
विश्वसनीय सूत्रहरूका अनुसार, धोनीले एमएसके प्रसादलाई सेलेक्सनअघि नै अब आफू भविष्यको योजनाका अंग नरहेको बताएका थिए । तर आफूले संन्यास नलिइहाल्ने उनले बताए । एमएसके प्रसादले पत्रकार सम्मेलन गरेर पन्तलाई निखार्न चाहेको बताएका थिए ।
उनले भने, ‘धोनीलाई कहिले संन्यास लिनुपर्छ भन्ने थाहा छ । धोनी हुन्जेल पन्तलाई अत्यधिक मौका दिने विषय हामीले सोचिरहेका छौं । त्यसले उनलाई ग्रूम गराउँछ । उनको कौशललाई हामी निखार्न चाहन्छौं । पन्त तीनैवटा फर्म्याटमा छन् । उनको वर्कलोडलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’
भारत साउन १८ देखि वेस्ट इन्डीजको भ्रमणमा हुनेछ । त्यसक्रममा तीनवटा टी२०, तीनवटा एकदिवसीय र दुईवटा टेस्ट म्याच हुनेछन् ।
एजेन्सी