
काठमाडौँ - यस वर्ष विपद्बाट अहिलेसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत १ हजार ५ सय २५ घटनामा तिनको मृत्यु भएको जानकारी दिएका छ्हन ।
उनका अनुसार तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट ९, हावाहुरीबाट ८, भारी वर्षाबाट ७, सर्पदंशबाट ६, हवाई दुर्घटनाबाट ३ र अन्य घटनाबाट ३ जनाको मृत्यु भएको छ ।
विपद्को घटनामा परेर ३५ बेपत्ता र ४ सय ८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिराबाट ९ तथा डुङ्गा पल्टेर र हिउँपहिरामा परी १/१ छन् । घाइते हुनेमा चट्याङबाट १ सय ६३, हावाहुरीबाट १ सय ४९, आगलागीबाट ६८, जनावरबाट ३५, पहिराबाट २९, भारीवर्षाबाट १४ र बाढीबाट दश जना भएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार ती घटनामा करीब दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६ सय १९ क्षति भएको छ । सबैभन्दा बढी क्षति आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार भएको छ । त्यस्तै बाढीबाट १ अर्ब ५ करोड ५ लाख ४ हजार क्षति भएको छ । बाढीपछि हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट १ करोड ७८ लाख ३ हजार, भारी वर्षाबाट ८२ लाख २० हजार ५ सय, चट्याङबाट २६ लाख दुई हजार र जनावर आतङ्कबाट ९ लाख १९ हजार क्षति भएको जनाइएको छ ।
उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९ सय ९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६ सय ९७ घरपरिवार प्रभावित भएका छन् । यसैगरी आगलागीबाट १ हजार ५६, बाढीबाट ६ सय ९९, चट्याङबाट २ सय ७, पहिरोबाट १ सय ५८, जनावर आतङ्कबाट ७५, भारी वर्षाबाट ५०, लेक लागेर १८ र सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् ।
विपद्बाट १ हजार २ सय ६४ घर आंशिक र ७ सय २९ घर पूर्ण रुपमा क्षति भएको छ । यसैगरी १ हजार १ सय ७८ पशु चौपाया मरेको र ३ सय ८४ गोठमा क्षति पुगेको जनाएको छ । आगलागीबाट ५ सय ५८, चट्याङबाट ४ सय १८, पहिराबाट ९२, बाढीबाट ५१, हावाहुरीबाट ३७, जनावर आतङ्कबाट नौ, भारी वर्षाबाट सात र असिनाबाट छ चौपाया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण भने करीब ९० जनाको ज्यान गएको थियो ।