काठमाडौं – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले नयाँ पनडुब्बीको निरीक्षण गरेको त्यहाँको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
एजेन्सीले दिएको खबर अनुसार, किम जोङ–उनले ‘पनडुब्बी सैन्य रणनीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि समर्थ बनाउने हिसाबमा तयार पारिएको तथ्यमा सन्तुष्टि जनाएका’ थिए ।
यस पनडुब्बीलाई सी अफ जापानमा रणनीतिक कार्यका लागि उपयोग गरिने विभिन्न मिडिया रिपोर्टले जनाएका छन् ।
पनडुब्बीमा कस्ता किसिमका हतियार जडान गरिएका छन् भन्ने विषय केसीएनएले खुलाएन र यसको विशेषताको बारेमा पनि चर्चा गरेन ।
निरीक्षणका क्रममा किमले पनडुब्बीको उपयोग उत्तर कोरियाका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण रहेको बताए । उनले राज्यको भरपर्दो रक्षाका लागि जलसेनाले हतियार विकसित गर्न आवश्यक रहेको पनि बताए ।
यसअघि अमेरिका र दक्षिण कोरियाली विज्ञहरूले उत्तर कोरिया ब्यालिस्टिक क्षेप्यास्त्र बोक्न समर्थ नयाँ पनडुब्बी बनाइरहेको भनी आशंका गरेका थिए ।