
काठमाडौं – न्युयोर्कको क्वीन्समा रहेको शिवशक्ति पीठका पुजारी स्वामी हरीश चन्दर पुरीमाथि साउन २ गते आक्रमण गरिएको छ ।
उनी मन्दिर परिसरमा हिँडिरहेको बेलामा एक व्यक्ति पछाडिबाट आए अनि उनलाई निरन्तर हिर्काए ।
पुजारीले धार्मिक वस्त्र लगाएका कारण अनि आक्रमणकारीले ‘यो मेरो टोल हो’ भनेका कारण यो जातिघृणाको अपराध हुन सक्ने स्थानीयहरूले अनुमान गरेका छन् ।
धार्मिक नेताहरूले घृणाको अपराधमा अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।
हिन्दू अभियन्ता संगठन साधनाले न्युयोर्क प्रहरीलाई एक पत्र लेखेको छ । पत्रमा लेखिएको छ, ‘स्वामी पुरीजीमाथि आक्रमणका क्रममा उच्चारण गरिएका शब्दहरू घृणाले भरिएको स्पष्ट छ । त्यसैले हामी न्युयोर्क प्रहरीलाई घृणा अपराधका रूपमा यसलाई हेर्न अनुरोध गर्छौं ।’
तर न्युयोर्क प्रहरीका एक प्रवक्ताले यसलाई घृणा अपराधका रूपमा अनुसन्धान नगरिएको बताएका छन् ।
प्रहरीले ५२ वर्षीय सर्जिओ गोउभीयालाई आक्रमणको आरोपमा पक्राउ गरेको छ । उनीमाथि आक्रमण, सताउने काम तथा फौजदारी नियतका साथ हतियार बोकेको आरोप लगाइएको छ ।
स्वामी पुरीलाई आक्रमणपछि अस्पतालमा राखिएकोमा अहिले उनी मन्दिरमै आराम गरिरहेका छन् । उनको शिर, नाक, हातहरू र गोडाहरूमा चोटपटक लागेको छ ।
एजेन्सी