सप्तरी, १४ चैत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् ।

मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष छ । सप्तरीको मलेठमा आइतबार भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सबै मधेसवादी दल एउटै झन्डामुनि आउनुपर्ने प्रस्ताव गरे । उनले भने, ‘विगतमा मसहित अन्य मधेसी नेताहरूबाट भएको गल्ती बिर्सेर अब पार्टी एकता गर्नुपर्ने आवश्यकता छ ।’
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले पनि आफू विनासर्त पार्टी एकता गर्न तयार रहेको बताए । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि सबै मधेसवादी दल एक बनाउन आफू अग्रसर रहेको बताएका थिए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकताका लागि आफू तयार रहेको भन्दै एकताको विपक्षमा जान नहुने बताए ।
मधेसवादी दलहरूबीच एकताको प्रसंग उठ्दा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने हिँडिसकेका थिए । मोर्चाको संयोजकसमेत रहेका उनले सुरुमै सभालाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगले मधेसलाई अधिकार नदिइए हतियार उठाउन बाध्य हुने चेतावनी दिएका थिए ।