०७ असार २०८३, आइतबार

सामुदायिक वनको रचनात्मक काम, आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा

सामुदायिक वनको रचनात्मक काम, आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा

तनहुँ – जिल्लाको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ ।

वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो ।

गत वर्ष २० लाख रुपैयाँ आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रतिपरिवार २ हजार ५ सय रुपैयाँका दरले २ लाख पाँच हजार लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले बताए ।

सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्नुपर्ने प्रावधानअनुसार वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको उनले जानकारी दिए । २ सय १ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा २ वर्षअघिदेखि वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ ।

विक्रम संवत् २०६६ सालमा समुदायमा हस्तान्तरण भएको वनले पहिलो वर्षमा नै राम्रो आम्दानी लिन सफल भएको थियो । उपभोक्ता समूहका सचिव टेकबहादुर गुरुङका अनुसार वनको आम्दानीबाट वैदेशिक रोजगारीमा जानेलाई सहुलियतमा कर्जा, पशुपालन गर्ने र उच्च शिक्षा अध्ययनको लागिसमेत सहुलियतमा कर्जा उपलब्ध गराइएको छ । जसका लागि २४ लाख ८० हजार ६ सय ८२ रुपैयाँ लगानी भएको उनले जानकारी दिए ।

वैज्ञानिक वन व्यवस्थापन लागू भएको वर्षमा नै सामुदायिक वनबाट ३७ लाख ६ हजार ९ सय ३४ रुपैयाँ आम्दानी भएको गुरुङले बताए ।

वन नियमावली २०५१ अनुसार सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन संरक्षण तथा विकासमा, ३५ प्रतिशत समूहभित्रका गरीब, महिला, विपन्न तथा पिछडिएका सदस्यको आयआर्जन वृद्धि गरी गरीबी न्यूनीकरण गर्ने कार्यक्रममा र बाँकी ४० प्रतिशत अन्य सामाजिक विकासका क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका १२ वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन शुरू भइसकेको छ । वनको हैसियतमा सुधार ल्याई उत्पादनमा वृद्धि गर्ने, वन पैदावरको आपूर्तिमा निरन्तरता एवं सहजता गराउने र स्थानीय रोजगारी सिर्जना गराई जैविक र वातावरणीय लाभ लिने उद्देश्यसहित वैज्ञानिक वन व्यवस्थापनलाई जोड दिइएको डिभिजन वन प्रमुख बरालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्