
काठमाडौं – बिहेको केही दिनपछि अमेरिकाको इन्डियानामा बस्ने क्ले चेस्टेन आफ्नी पत्नी एकेमीका साथ हनीमूनका लागि क्यारिबीयन टापु पुगेका थिए ।
साउन २ गते उनीहरू लगभग ३७ सय फीट चढेर माउन्ट लियामुइगा पुगे । क्ले त्यहाँ एउटा निष्क्रिय ज्वालामुखीमा ५० फीट मुनि लडे । त्यसपछि पत्नीले हिम्मत देखाइन् र ज्वालामुखीभित्र गएर पतिलाई मृत्युको मुखबाट बचाइन् ।
एकेमीले पतिलाई निष्क्रिय ज्वालामुखीबाट बाहिर निकालेको मात्र नभई उनलाई लिएर ३.२ किलोमिटर पर रहेको बेससम्म पनि लगिन् । त्यहाँ उनीहरू फोर्ट लउडेरडेल अनि मेडिकल चार्टर्ड प्लेन बूक गरेर फ्लोरिडा गए । उपचारपछि चेस्टेन अब खतरामुक्त छन् । क्लेको शिर र शरीरमा चोटपटक लागेको छ ।
चेस्टेनले घटनाका बारेमा बताए, ‘हामीहरू पहाडमा थियौं । ज्वालामुखीको क्रेटरको गहिराइमा भएको हरियालीले मलाई आकर्षित गर्यो । तर मलाई गहिराइबाट डर लाग्थ्यो । तैपनि मैले आफूलाई रोक्न सकिनँ र तल ओर्लदै गएँ । म चिप्लिएँ अनि पुल्टुङबाजी गर्दै चट्टानमा गएर ठोकिएँ ।’
एकेमीले बताए, ‘टाउकोमा चोट लागेपछि क्ले बेस्सरी चिच्याए । त्यहाँ हामी दुई बाहेक कोही पनि थिएन । न मोबाइल लाग्थ्यो, न अन्य सुविधा थियो । अनि मैले नै क्लेलाई सहारा दिएर बेससम्म लगें । हामीहरू तीन घन्टामा बेस पुग्यौं ।’
चेस्टेनको टाउको, नाक र गर्दनमा चोट लागेको छ । खप्परमा चोट लागेर निकै रगत बग्यो । तर उनी ठीक हुँदै गएका छन् ।
एजेन्सी