
काठमाडौं – रोमानियामा विद्यालयमा पढ्ने एक बालिकाको अपहरणपछि भएको हत्याको विरोधमा मानिसहरूले प्रदर्शन गरेका छन् । उक्त घटनामासहायता मागेको १९ घन्टासम्म प्रहरी अधिकारीहरूले कुनै प्रतिक्रिया नजनाएपछि मानिसहरूले प्रहरीको विरोध गरेका हुन् ।
अलेक्सान्द्रा माकेसानु नामक १५ वर्षीया किशोरीले युरोपेली इमर्जेन्सी नम्बर ११२ मा फोन गरेर आफूलाई कारकाल नजिक पदयात्रा गर्दै गर्दा एकजनाले अपहरण गरेको बताएकी थिइन् ।

किशोरीलाई घिसारेर पुर्याइएको भनिएको ठाउँमा अधिकारीहरू पुग्दा त्यहाँ मानव अवशेष र उनका गरगहनाका टुक्राटाक्री फेला पारेका थिए ।
प्रहरीले घटनामा निकै ढिलो प्रतिक्रिया दिएपछि स्थानीयहरू निकै क्रुद्ध भए अनि शनिवार राजधानी बुखारेस्टमा प्रदर्शन गरे ।
घटनापछि प्रहरी प्रमुख इओन बुडालाई गृहमन्त्री निकोलाइ मोगाले बर्खास्त गरेका छन् ।
प्रदर्शनकारीहरूले राजधानीमा ‘भ्रष्टाचारले मार्छ’, ‘उनको रगतका लागि तिमीहरू जिम्मेवार छौ’, ‘रोमानियालाई मारिँदैछ’ लगायत लेखिएको ब्यानर हल्लाउँदै शनिवार साँझ प्रदर्शन गरेका थिए ।
जुलुस सकिएपछि अलेक्सान्द्राका लागि जागरण राखिएको थियो । विरोधकर्ताहरूले गृह मन्त्रालय बाहिर फूल र मैनबत्ती राखेका थिए ।
विरोधकर्ताहरूले शक्तिमा रहेका मानिसले गर्ने बेवास्ता, उनीहरूको अक्षमता र समानुभूतिको अभावका विरुद्ध प्रदर्शन गरिएको भनी एक वक्तव्य जारी गरेर बताए ।
एजेन्सी