०४ असार २०८३, बिहीबार

बाढी प्रभावितका लागि मुख्यमन्त्री राउतले मागे २५ अर्ब, प्रधानमन्त्री ओली सकारात्मक

साउन १३, २०७६
बाढी प्रभावितका लागि मुख्यमन्त्री राउतले मागे २५ अर्ब, प्रधानमन्त्री ओली सकारात्मक

जनकपुरधाम – २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बाढी पीडितको राहत तथा बसोबासका लागि तत्काल कम्तीमा २५ अर्ब रुपैयाँ सहयोग गर्न अनुरोध गरेका छन् ।

मुख्यमन्त्री राउतले आइतवार प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमै भेट गरेर २५ अर्ब रुपैयाँ बाढी पीडितलाई सहयोग स्वरूप प्रदान गर्न माग गरेका छन् ।

‘करीब ७० मिनेट जति भएको भेट वार्ताका क्रममा प्रदेश २ मा आएको बाढीका कारण भएको सम्पूर्ण क्षतिको विवरण प्रस्तुत गर्नुका साथै तत्काल सहयोग गर्न सरकारसँग रकम माग गरेका छौं,’ भेटवार्तामा सहभागी रहेका प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘प्रधानमन्त्री ओलीले पनि प्रदेश २ मा बाढीका कारण भएको जनधनको क्षतिप्रति गम्भीर रहेको तथा आवश्यकता अनुसार प्रदेश सरकारलाई सहयोग गर्न नेपाल सरकार तयार रहेको जवाफ दिएका थिए ।’

भेट वार्ताका क्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । 

प्रदेश सरकारसँग स्रोतसाधनको अभाव रहेको र प्रदेश सरकारले आफ्नो बलबुत्तामा मात्र बाढी पीडितको राहत तथा पुनर्निर्माणको काम गर्न बजेटको अभाव रहेकाले संघीय सरकारसँग मद्दत माग गरेको मन्त्री यादवले बताए । छिट्टै बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री प्रचण्डले स्थलगत निरीक्षण गर्ने तथा आवश्यक सम्पूर्ण सहयोग गर्न नेपाल सरकार तयार रहेको प्रम ओलीले जवाफ दिएको मन्त्री यादवले बताए ।

‘बाढीको रोकथाम वा क्षति न्यूनीकरण गर्नका लागि दीगो समाधान गर्न चुरे क्षेत्रको संरक्षण तथा त्यसलाई अन्तर्राष्ट्रिय मुद्दा समेत बनाएर सम्बन्धित अन्य देशको समेत साझा सहकार्य आवश्यक रहेको प्रम ओलीलाई जानकारी गराएका छौं,’ मन्त्री यादवले भने, ‘विभिन्न नदीको डिलहरू क्षतिग्रस्त भएका छन्, त्यसको समाधान गर्न तथा तटबन्धलाई व्यवस्थित गर्दै नदीको किनारमा रहेका जोखिम क्षेत्रमा बसोबास गरिरहेको बस्तीलाई अन्य सुरक्षित स्थानमा बस्ती बसाउने समेतको प्रदेश सरकारले दीर्घकालीन विपद् रणनीतिक योजना बनाइरहेको जानकारी समेत गरायौं ।’ 

प्रदेश सरकारको भिजनबाट प्रभावित भएको र प्रदेश सरकारको भिजनलाई कार्यान्वयन गर्न चाहिने सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको प्रम ओलीले जवाफ दिएको उनले बताए । 

मुख्यमन्त्री राउतको नेतृत्वमा राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव समेत टोलीमा रहेका छन् । प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले पनि प्रदेश २ मा बाढीको क्षति तथा नदी नियन्त्रणका लागि नेपाल सरकारले सहयोग गर्नुपर्ने प्रम ओलीलाई बताएका थिए ।

बाढीबाट प्रदेश २ मा ३९ जनाको मृत्यु भएको छ । ६ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएको, १ लाख १८ हजार घरमा क्षति पुगेको छ भने ३ हजार ५ सय ५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले त्यसको पुनर्निर्माण समेत गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए । हजारौं बिघा खेतीयोग्य जमिनमा बालुवा पुरिएर मरुभूमि भएको छ ।

बाढीका कारण प्रदेशका सडकमा समेत व्यापक क्षति भएकाले त्यसको निर्माणका लागि प्रदेश सरकारको टोलीले संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाइ समेत भेट गरेर आग्रह गरेका छन् । जवाफमा तत्कालै सडक सञ्चालनमा ल्याउन आफूले सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको महासेठले बताए ।

प्रदेश सरकारको सर्वदलीय टोलीले विभिन्न मन्त्रीसँग भेटवार्ता गरेर मंगलवार मात्र जनकपुरधाम फर्किने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्