
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य लगायतको रुचिबारे बुझेर जिम्मेवारी बाँडफाँडको निर्णय लिने भएको छ ।
सोमवार बसेको सचिवालय बैठकले सबै केन्द्रीय पदाधिकारी र सदस्यको रुचि बुझेर जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यविभाजनका निम्ति रुचिका प्राथमिकताका बारेमा सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी समय दिइएको बताए ।
‘सबै केन्द्रीय निकाय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठनको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति रुचिका प्राथमिकताका बारेमा सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी साउन २८ गते ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ,’ उनले भने ।
पार्टी एकीकरण भएको लामो समयसम्म पनि पार्टीमा कार्यविभाजन हुन नसकेको भन्दै असन्तुष्टि बढ्दो छ । पछिल्लो समय स्कूल विभागको नेतृत्वमा विवाद देखिएकाले निर्णय हुन नसकेको चर्चा चलेको छ । तर प्रवक्ता श्रेष्ठले त्यसलाई अस्वीकार गरे ।
‘सचिवालय बैठकले कुनै पनि विभागको बारेमा कुनै निर्णय गरेको छैन तसर्थ कुनै एउटा विषयमा विवाद छ भन्न मिलेन,’ उनले सञ्चारकर्मीको प्रश्नमा भने ।