
काठमाडौं – अमेरिकाको क्यालिफोर्नियामा सोमवार भएको गोलीकाण्डमा तीनजना मारिएको र १५ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । गिलरोय लसुन महोत्सवमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ ।
गिलरोयका प्रहरी प्रमुख स्कट स्मिथीले यो वार्षिक पारिवारिक समारोहमा सुरक्षा उपलब्ध गराइएको अनि झोलाहरू प्रवेशद्वारमा जाँच गरिएको बताए । तर आक्रमणकारीले पर्खालमा प्वाल पारेर प्रवेश गरेको देखिएको छ ।
आक्रमणकारीको पहिचान र नियत खुलेको छैन र उनले अन्धाधुन्ध राइफलबाट गोली प्रहार गरेको स्मिथीले बताए ।
दोस्रो आक्रमणकारी पनि घटनामा संलग्न रहेको बताइएपनि यसको पुष्टि हुन सकेको छैन ।
‘हाम्रो टोली दोस्रो आरोपितका विषयमा आएका सूचना अनुसार अघि बढिरहेको छ,’ स्मिथीले भने ।
घटना भएको लगभग तीन घन्टापछि उक्त क्षेत्रमा थप गोली प्रहार भएको पत्रकार एलिसा ह्यारिङटनले ट्वीट गरिन् ।
तीन दिनसम्म चल्ने गिलरोय लसुन महोत्सव अमेरिकाको सबभन्दा ठूलो वार्षिक खाना महोत्सवमध्ये एक हो । यो क्यालिफोर्नियाका सान होसेबाट ३० माइल दक्षिणपूर्वमा आयोजना गरिन्छ । आइतवार महोत्सवको अन्तिम दिन थियो ।
एजेन्सी