
चितवन – पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका १ युवकको मुत्यु भएको छ ।
रत्ननगर नगरपालिका–३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
साथीहरूसँगै पौडी खेल्न गएका उनको सोमवार दिउँसो १ बजे मुत्यु भएको र उनका साथीहरुले शव निकाली प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको छ ।
यसैबीच गोहीको आक्रमणबाट १ जना घाइते भएका छन् । चितवनको माडी नगरपालिका–१ रिउखोलामा भैंसी चराउन जाने क्रममा सोमवार दिउँसो ३ः४५ बजे गोहीको आक्रमणबाट माडी नगरपालिका–१ पाण्डवनगर बस्ने २३ वर्षीय सूर्य बोट घाइते भएको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिए ।
घाइतेको अवस्था मध्यम रहेको छ । उनको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।