
काठमाडौं – भारतका अर्बपति कफी व्यवसायी भीजी सिद्धार्थ बेपत्ता भएको ४८ घन्टापछि कर्नाटकको नेत्रावती नदीबाट शरीर फेला परेको छ ।
क्याफे कफी डे चेनका संस्थापक सिद्धार्थको नै शरीर फेला परेको अधिकारीहरूले जनाएका छन् ।
प्रहरीले नदीको पुलमुनि सिद्धार्थको शरीर खोजी गरेको थियो । उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ ।
कफी व्यवसायीले आफ्नो कम्पनीका शेयरधनीहरूलाई एउटा पत्र पठाएर बेपत्ता भएको बताइएको छ । पत्रमा उनले आफूमाथि विश्वास गर्ने सबैजनाको भरोसा तोडेकोमा माफी मागेका थिए । अनि उनले आर्थिक समस्या, ऋण र आयकर अधिकारीहरूले दिएको हैरानीका विषयमा बिलौना गरेका थिए ।
कर अधिकृतहरूले पत्रमा सिद्धार्थको हस्ताक्षर आधिकारिक भए नभएको विषयमा शंका उठाएका छन् । प्रहरी स्रोतहरूले चाहिँ उक्त पत्र सिद्धार्थको परिवार र उनका सहायकले आफूहरूलाई उपलब्ध गराएको बताएको छ । एक वरिष्ठ अधिकारीले उक्त पत्रको आधिकारिकता पत्ता लगाउन फरेन्सिक विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बताए ।
लगानीकर्ताहरूले उक्त पत्र पाएपछि कफी डे इन्टरप्राइजेजको शेयर २० प्रतिशत झरेको छ ।
एजेन्सी