
डोटी – लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयको घर भत्किएको छ ।
प्रहरी चौकी डौडले दिएको जानकारी अनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो ।
वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उनको ९ जनाको परिवार पाल टाँगेर बस्न बाध्य भएको छ । साउन महिनाको झरीमा घर भत्किएका पार्कीलाई कुनै पनि निकायबाट हालसम्म कुनै राहत उपलब्ध नभएको स्थानीय बताउँछन् ।
घर भत्किँदा करीब ३ लाख रुपैयाँको धनमालको क्षति भएको दिलबहादुरका भाइ बाले पार्कीले बताए । उनले भने, ‘बाहिर लगातार झरी परिरहेको छ, घर भत्कियो कहाँ गएर बस्ने बिचल्लीमा छौं ।’ घर भत्किएसँगै उनको एक पशुसमेत घरभित्रै परी मरेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले घर भत्किएर बिचल्ली भएको विषयमा लिखितरूपमा निवेदन नआएको बताए । ‘घर भत्किएको विषयमा लिखित निवेदन आए हामी जिल्ला प्रशासनबाट प्रदान हुने राहत तत्कालै प्रदान गर्नेछौं,’ उनले भने । डोटीमा करीब ४ दिनदेखि लगातार वर्षा भइरहेको छ ।