
काठमाडौँ -नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफू स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको बताएका छन् । बुधवार दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा सपथ खाएर मन्त्रालयमा पदभारका लागि आएका भट्टराईले आफू परिस्थतिवश अधिकारीको कुर्चीमा आएको बताएका हुन् ।
'आज परिस्थितिले उहाँ बस्नुभएको कुर्चीमा म आइपुगें,' भट्टराईले भावुक हुँदै भने, 'म यतिबेला उहाँलाई सम्झिन चाहन्छु । उहाँसँग लामो समय बिताएको छु ।'
मन्त्रालयलाई स्वर्गीय अधिकारीकै नेतृत्वको आवश्यकता रहेको भट्टराईले पटक-पटक दोहोर्याए । 'परिस्थितिलाई हामीले जित्न सकेनौं,' उनले भने, 'म उहाँको एउटा उत्तराधिकारी जस्तो भएर आएको छु । यसमा मलाई कुनै ग्लानी छैन ।'
भट्टराईले अरूलाई काम गराउन मन्त्रालय नआएको बताए । 'म कसैलाई काम लगाउन आएको होइन, सिक्न आएको हुँ,' उनले भने, 'तपाईंहरूले मलाई काम लगाउनुहुनेछ । तपाईंहरूले लगाएको काम गर्न आएको हुँ म ।'
जस्तो काम गर्दा सबैको इज्जत बढ्छ, प्रधानमन्त्रीले सोचेको अपेक्षा पूरा हुन्छ, मुलुकका जनताले सोचेको अपेक्षा पूरा हुन्छ, त्यही काम आफूले गर्ने भट्टराईले दाबी गरे । 'के काम गर्दा चुनौतीहरूमाथि सफलता प्राप्त गर्न सक्छौं त्यो यहाँहरूले नै विचार गर्ने हो,' उनले भने ।
पढ्नुहोस् यो पनि -