काठमाडौं, १४ चैत — भारतमा हवाई यात्राका दौरान यात्रीहरूले उच्छृंखल व्यवहार गर्ने घटना बढिरहेकोमा भारतीय एयरलाइन्स कम्पनीहरूले चिन्ता जाहेर गरेका छन् । यस्ता घटना हुन नदिनका लागि विमानसेवाहरूले कठोर कदम चलाउने मनसुवा बनाएका छन् ।

यही क्रममा हास्यकलाकार कपिल शर्मालाई एयर इन्डियाले चेतावनी दिने भएको हो ।
कपिलले हालै एयर इन्डियाको अस्ट्रलियाबाट भारतसम्मको फ्लाइटमा बखेडा मच्चाएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार उनले साथी सुनिल ग्रोवरलाई जुत्ता हानेका थिए र थप्पड हिर्काएका थिए ।
यसका अलावा उनले विमानका कर्मचारीसँग दुर्व्यवहार गरेका थिए र गाली बकेका थिए ।
एयर इन्डियाका प्रमुख अश्विन लोहानीले उडानका दौरान कपिल शर्माको व्यवहारका सम्बन्धमा एक रिपोर्ट मागेका छन् । कपिललाई चेतावनी यही हप्ता जारी हुने सम्भावना छ ।
एक सूत्रका अनुसार कपिलले धेर हल्लाखल्ला गरेपछि एक पाइलट क्याबिनबाहिर आए र उनलाई कडा चेतावनी दिए । त्यसपछि चाहिँ कपिलले पूरै यात्रा सुतेरै बिताए ।
नवभारत टाइम्सबाट