
हुम्ला – जिल्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी १ महिलाको मृत्यु भएको छ ।
बुधवार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्य चौकीमा भर्ना भएकी वडा नम्बर ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो ।
टमटालाई सुत्केरी व्यथा लागेपछि बुधवार बिहान ४ बजे प्रसूति गृहमा ल्याइएपनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए ।
मृतक टमटालाई बुधवार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्य चौकीमा पुर्याइएपनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए । स्वास्थ्य चौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिए ।
दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ ।