
काठमाडौं –प्रमुखसत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला दुबई घुमघाममा व्यस्त छन् । नितान्त पारिवारिक मानिएको उनको दुबई भ्रमणमा निकै सावधानी अपनाइएको छ ।
प्रचण्डका यसअघिका विदेश भ्रमणहरूमा कुनै न कुनै तस्वीर बाहिर आउने गर्दथ्यो । कतिपय तस्वीरहरू विवादित पनि बनेका थिए । तस्वीर मात्र नभएर प्रचण्डको भेटघाट र अन्य कुराहरू पनि विवादित बन्ने गर्दथे ।
स्रोतले लोकान्तरलाई प्रचण्डको दुबई भ्रमणमा अति सावधानी अपनाइएको जानकारी दियो ।
बुधवार प्रचण्ड दुबई मल र बुर्ज खलिफा टावर घुम्न गएका थिए । प्रचण्ड होटेलबाट यताउता निस्किँदा परिवारका सदस्यबाहेक कोही पनि उनको साथमा रहने गरेका छैनन् ।
प्रचण्डले स्थानीय नेपाली पत्रकार र आफ्नै पार्टीका नेता-कार्यकर्तासँग पनि दूरी बनाइरहेको स्रोतले बतायो ।
'उहाँले अहिलेसम्म राजनीतिक भेटघाट गर्नुभएको छैन,' स्रोतले भन्यो, 'दुबईस्थित नेपाली कम्युनिटी र बिजनेस काउन्सिलसँग उहाँको भेटवार्ता तय भएको छ तर समय र स्थान सार्वजनिक गरिएको छैन । उहाँले सम्भवतः आज या भोलिमा नेकपाका नेता तथा कार्यकर्ताहरूसँग भेट गर्नुहुनेछ ।'
पार्टीभित्र विभागलाई लिएर देखिएको विवाद लामो समयसम्म हल हुन नसकेपछि १५ दिनका लागि सचिवालय बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड दुबई उडेका थिए ।
दुबईमा उनी पाम जुमेराहस्थित ५ तारे होटेल एट्लान्टिस बसेका छन् ।
यसअघि प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री रहेकाबेला दुबई भ्रमणमा गएका थिए । त्यहाँ उनको तस्वीरलाई लिएर ठूलो आलोचना गरिएको थियो ।
युएईका सरकारी अधिकारीहरूसँग भेट्दा राम्रोसँग नउभिएको भन्दै विपक्षी दलका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा प्रचण्डको आलोचना गरेका थिए ।