
काठमाडौं – चालकविहीन कार त देखिएकै हो तर अब वैज्ञानिकहरूले आफैं सन्तुलन मिलाएर गुड्ने साइकल पनि बनाएका छन् ।
राम्ररी साइकल चलाउन नजान्ने व्यक्तिका लागि साइकल आफैं सिधा बस्छ, गति अवरोधक (स्पीड बम्प) र बाधाअवरोधबाट स्वतः साइकललाई बचाउँछ ।
साइकललाई कृत्रिम बौद्धिकताले सञ्चालन गर्छ । आवाजले आदेश दिएको भरमा साइकलले गति बढाउने, घटाउने र दायाँ वा बायाँ मोड्ने गर्छ ।
बेइजिङमा रहेको सिङहुआ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यो साइकल बनाएका हुन् । साइकलको पछाडिको चक्कामा सानो चिप जडान गरिएको छ ।
साइकललाई सिधा र स्थिर राख्नका लागि गाइरोस्कोप प्रयोग गरिएको छ भने क्यामराले बाटोको अवरोध पत्ता लगाउनेछ ।
अनि साइकलमा भएको माइक्रोफोनले चलाउने मानिसको कमान्ड सुनेर कार्यान्वयन गर्नेछ । स्पीड सेन्सरले साइकल कति छिटो गइरहेको छ भनी हेर्नेछ ।
मानव मस्तिष्कले अवरोध पत्ता लगाउने र त्यसमा प्रतिक्रिया दिने गरेजस्तै साइकलको प्रविधिले पनि बाधाअवरोध छल्दै साइकललाई अघि बढाउनेछ ।
जम्मा एउटा चिपबाट साइकलको सबै किसिमको नियन्त्रण गर्न सकिन्छ ।
यो साइकलमाथि गरिएको अध्ययन निष्कर्ष नेचर पत्रिकामा छापिएको छ । त्यसमा यो साइकल देशैभरि जता पनि लान मिल्ने, अगाडिको मान्छेलाई ट्य्राक गर्न मिल्ने र सिधा रेखामा अगाडि बढाउन मिल्ने लेखिएको छ ।
एजेन्सी