०१ असार २०८३, सोमबार

सर्पदंशबाट २ जनाको मृत्यु

सर्पदंशबाट २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

झापा – सर्पदंशका कारण झापामा पछिल्लो ३ दिनमा २ जनाको मृत्यु भएको छ । 

साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीवार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ ।

थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको स्थानीय घनश्याम रायले जानकारी दिए ।

थापालाई सर्पले डसेलगत्तै सर्पदंश उपचार केन्द्र चारआली पुर्‍याएपनि उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । पछिल्लो समय झापामा सर्पदंशका बिरामी बढेका छन् ।

गर्मी बढेसँगै झापामा सर्पदंशका बिरामी बढेका हुन् । झापामा बर्सेनि झण्डै ३ हजार ५०० बढी सर्पदंशका बिरामीले जिल्लास्थित ३ सर्पदंश उपचार केन्द्रबाट सेवा लिएका छन् ।

केन्द्रका प्राविधिक खेमचन्द्र अधिकारीका अनुसार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक सातदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।

केन्द्रमा वैशाख र जेठ मसान्तसम्ममा मात्र्र २०० का हाराहारीमा सर्प डसाइका बिरामीले उपचार सेवा लिएको उल्लेख गरिएको छ ।

विक्रम संवत् २०५५ मा स्थापित सो केन्द्रले सर्पको डसाइका कारण बढ्दो मृत्युदर रोक्न मोटरसाइकल स्वयंसेवक कार्यक्रमसमेत परिचालन गरिएको जनाएको छ । दमकमा जिल्लाका साथै मोरङ, दक्षिणी चुलाचुली इलाम र गौरीगञ्जसहित दक्षिण भारतका समेत बिरामी उपचार गर्न आउने गरेको केन्द्रका प्राविधिक गंगाराज उप्रेतीले बताए ।

केन्द्रमा १ मेडिकल अफिसर, १ एनेस्थेसिया र अन्य ६ प्राविधिक स्वास्थ्यकर्मीले २४ सै घण्टा सर्पदंशका बिरामीलाई सेवा उपलब्ध गराउँदै आएका छन् । केन्द्रमा १३ शय्या राखिएका छन् ।

श्री नयाँ श्रीनाथ गण चारआलीमा नेपाली सेनाको ब्यारेकसहित कनकाई नगरपालिकाको कोटीहोममा सहारा नेपाल सहकारी संस्थाको अगुवाइमा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले सेवा लिँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्