१८ असार २०८३, बिहीबार

कुमार पौडेलको मृत्युका विषयमा सत्यतथ्य पत्ता लगाउन जवाफदेहिता निगरानी समितिको आग्रह

कुमार पौडेलको मृत्युका विषयमा सत्यतथ्य पत्ता लगाउन जवाफदेहिता निगरानी समितिको आग्रह

काठमाडौं – मानवअधिकारवादीहरूको सञ्जाल जवाफदेहिता निगरानी समितिले सर्लाहीमा मुठभेडमा मारिएका भनिएका विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सत्यतथ्य पत्ता लगाउन मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

आइतवार हरिहरभवनस्थित आयोगको कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै समितिले पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई प्रहरीले नियन्त्रणमा लिएपछि चरम यातना दिएर गोली हानी मारेको आशंका मृतकका परिवारले गरेको जानकारी दिएको छ । 

संसदमा समेत यो विषय उठेको भए पनि सरकारले यसलाई बेवास्ता गरेको आरोप समितिले लगाएको छ । 

यस्ता प्रकृतिका गैरन्यायिक हत्यामा निष्पक्ष छानबिन गर्नका लागि समितिले मानवअधिकार आयोगका अध्यक्षलाई अपील समेत गरेको छ । 

मानवअधिकार आयोगका अध्यक्षलाई बुझाएको ज्ञापनपत्रको पूर्णपाठ यसप्रकार छ :  

श्री माननीय अनुपराज शर्मा ज्यु,
अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोग,
हरिहर भवन, पुल्चोक, नेपाल ।

 
बिषयः कुमार पौडेलको गैरन्यायिक हत्याको आशंका गरिएको घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारवाही सम्बन्धमा ।     

अध्यक्ष ज्यु,
मिति २०७६ असार ५ गते सर्लाही जिल्लाको लालवन्दी नपा–१ लखनदेही खोला नजिकैको जङ्गलमा सर्लाही जिल्ला बागमती नगरपालिका–२ धरहरा निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँग भएको मुठभेडमा मृत्यु भएको भनिएको घटना सम्बन्धमा सरकारका तर्फवाट आएका अभिव्यक्ति र यस घट्नालाई ढाकछोप गर्न खोजेको आसयप्रति जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

संविधानप्रदत्त नागरिकको बाँच्न पाउने अघिकार कुण्ठित भएको यस घटनामा विभिन्न संघ–संस्थाका स्थलगत भ्रमण प्रतिवेदन, स्थानीय व्यक्तिहरु तथा मृतकका आफन्तहरुले कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई प्रहरीले नियन्त्रणमा लिई चरम यातना दिए पश्चात गोली हानी भएको आशंका गरिरहेको अवस्था छ । यस घटनाका सम्बन्धमा संसदमा समेत आवाज उठेर हालसम्म संसद अवरुद्ध हुँदापनि सरकार गम्भीर भएको देखिदैन । यस गम्भीर घटनालाई दोहोरो भिडन्तमा घटेको भनेर सरकारले दोषीलाई उन्मुक्ति दिन खोजेको निगरानी समितिको आशंका छ । 

राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक हत्या आशंकाको यस घटनाको छानबिन अगाडी बढाएको र संलग्न ठानिएकाहरुसँग बयान लिने कार्य शुरु गरेको समाचारले पीडितमा न्याय पाउने केही आशा जगाएको छ । तर आयोगबाट विगतमा यस प्रकारका कतिपय घट्नामा अनुसन्धान गरिएको भनिएपनि सत्यतथ्य सार्वजनिक नहुनु र कुनैपनि दोषीमाथि हालसम्म कारवाही नहुनु रहस्यमय मात्र नभएर यस प्रकारका घट्ना बारम्बार दोहोरिइ रहने परिस्थिति समेत सृजना भएको तितो यथार्थ हो । यसअर्थमा पनि यस घटनाकोे आयोगले गम्भीरताका साथ निष्पक्ष र विनादबाब वा प्रभाबमा परी प्रभावकारी छानविन गरी दोषी उपर कडाभन्दा कडा कानुनी कारवाहीको सिफारिस र त्यसको सार्वजनिकरण समेत गर्न निगरानी समिति अध्यक्ष ज्यु समक्ष जोडदार माग गर्दछ ।

साथै, यसअघि भएका गैरन्यायिक आशंकाका सबैघट्नाको रोकिएका कामकारवाही अघि बढाउँन अनुरोध गर्दै यस्ता गम्भीर मानव अधिकार उलंघनका घट्नालाई गुपचुप राख्नु पर्नका वास्तविकता पत्ता लगाई पदिय दायित्व विपरित पीडितलाई न्याय दिलाउन गम्भिरतापूर्वक लागि नपर्ने र दण्डहीनतालाई प्रश्रय दिने आयोगका पदाधिकारी वा कर्मचारीमाथि कारवाही गर्न र त्यसको जानकारी सार्वजनिक समेत गर्न अध्यक्ष ज्यु समक्ष हामी अपिल गर्दछौं ।  

जवाफदेहिता निगरानी समितिका तर्फवाट

चरण प्रसाई,संयोजक

salt training

कमेन्ट गर्नुहोस्