
काठमाडौं – टर्किश एयरलाइन्सको एक विमान उड्न ठिक्क परेको बेलामा यात्रुहरूबीच कुटाकुट भएको छ ।
तीनजना रुसी पर्यटकहरूलाई इस्तानबुलमा टर्किश एयरलाइन्सको विमानबाट बाहिर निकालिएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरूविरुद्ध हुलदंगाको आरोप लगाइएको छ ।
घटनाको भिडियोमा झगडालु यात्रुहरूलाई अन्य यात्रुले शान्त हुन आग्रह गरेको देखिन्छ । ती यात्रुहरू टर्कीमा बिदा मनाएर रुस फर्किरहेका थिए ।
इस्तानबुलबाट येकातेरिनाबर्गका लागि उड्न ठिक्क परेको विमान झगडा भएपछि उड्न पाएको थिएन ।
झगडापछि बच्चाहरू चिच्याएको र झगडालुहरूले ठूलो ठूलो स्वर निकालेर झगडा गरेको देखिन्छ ।
एक पुरुष यात्रुले ए३१९ विमानमा महिला यात्रुलाई पिटेको आरोप लगाइएको छ ।
‘एक महिलाले मुड्की बजारिन् अनि एक पुरुषले उनको गाला चड्कयो,’ एक यात्रुले बताए । अनि अर्को पुरुष उठेर ‘तिमीले महिलामाथि किन हात उठाएको’ भनी सोधेको ती यात्रुको भनाइ छ ।
झगडा के कारण भएको हो भन्ने प्रस्ट हुन सकेको छैन ।
अन्य यात्रु र दुई विमान परिचारिकाहरू झगडा शान्त पार्न दौडिएको देखिन्छ ।
झगडा गर्ने तीनजनालाई प्रहरीले विमानबाहिर निकालेपछि विमान उडेको थियो ।
झगडालु यात्रुहरूलाई इस्तानबुलमा हिरासतमा लिइएको बताइएको छ ।
एजेन्सी