०६ असार २०८३, शनिबार

सडक सौर्यबत्ती जडान शुरु

सडक सौर्यबत्ती जडान शुरु
फाइल फोटो

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरू गरिएको छ ।

नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत १ करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न शुरू गरिएको हो ।

रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई सहजता, अँध्यारोका कारण हुने सवारी दुर्घटना तथा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सडक सौर्यबत्ती जडान गर्न शुरू गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए । राति आफैं बल्ने र दिउँसो आफैं बन्द हुने सडक सौर्यबत्ती पहिलो चरणमा व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि र बाक्लो मानवबस्ती रहेको ठाउँमा जडान गरिने बताइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सुरक्षित र सभ्य नगर बनाउने अभियानअन्तर्गत सडक सौर्यबत्ती जडान गर्न शुरू गरिएको हो । 

नगर प्रमुख रिजालका अनुसार पहिलो चरणमा वडा नम्बर–१ दिक्तेलमा ५७, वडा नम्बर–२ सोल्मामा ५, वडा नम्बर–३ बाम्राङमा ५, वडा नम्बर–४ खाल्लेमा ४, वडा नम्बर–५ लफ्याङमा ४, वडा नम्बर–६ नेर्पामा ४, वडा नम्बर–७ दोर्पा्चिउरीडाँडामा ४ वडा जडान गरिनेछ । यस्तै, वडा नम्बर–८ दोर्पाबुवालुङमा ७, वडा नम्बर–९ निर्मलीडाँडामा ४, वडा नम्बर–१० पाथेकामा ६, वडा नम्बर–११ खार्मीमा ५, वडा नम्बर–१२ जालपामा ६, वडा नम्बर–१३ नुनथलामा १५, वडा नम्बर–१४ बुइपामा १५ र वडा नम्बर–१५ विजयखर्कमा ९ वटा सडक सौर्यबत्ती जडान गरिने छ । 

१ ठाउँमा ७८ हजार रुपैयाँ बराबरको लागतमा जडान सम्पन्न हुने सडक सौर्यबत्तीको सोलार प्यानेल २०० वाट क्षमताको रहेको जनाइएको छ । १२ भोल्टको ब्याट्रीसहित फालामे पोलमा जडान गरिने सडक सौर्यबत्तीको बल्व ४० वाट क्षमताको रहेको ठेकेदार कम्पनी विराट इनर्जी प्रालि ललितपुरका प्रतिनिधि धनकुमार राईले बताए ।

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि नगर क्षेत्रभित्रको ३१ ठाउँमा सडक सौर्यबत्ती जडान गरिएको थियो । सो समयमा अपुग भएका ठाउँमा यस पटक थप १५० वटा खरीद गरेर जडान शुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् ।

नगरपालिकाभित्रका करीब दुईतिहाइ अर्थात् ६६ प्रतिशत घरधुरीले मात्र अहिले केन्द्रीय विद्युत् उपभोग गरेका छन् ।

१० हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी तथा सोलार प्रयोग गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्