
काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रहरी हुँ भन्दै लुट्ने २ व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौं महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौंका दोर्जे तामाङ र नोर्बु तामाङलाई सोमवार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौं बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र ६ हजार रुपैयाँ लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
‘सीसीटीभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो,’ उनले भने ।
पक्राउ परेकासँग ४ थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।