
काठमाडौं – भारत र पाकिस्तानबीच कश्मीरमा रहेको नियन्त्रण रेखामा सैन्य भिडन्त भइरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतवार पुनः एकपटक अमेरिकी मध्यस्थताको प्रस्ताव राखेका छन् ।
भारतको आलोचना गर्दै खानले ट्वीट गरे, ‘राष्ट्रपति ट्रम्पले कश्मीरमा मध्यस्थताको प्रस्ताव राखेका छन् । अहिले त्यहाँको परिस्थिति बिग्रँदै जाँदा र नियन्त्रण रेखामा भारतीय बलहरूले आक्रामक क्रियाकलाप गर्दै गर्दा मध्यस्थता प्रस्ताव स्वीकार्नु हितकारी हुन्छ । यो क्षेत्रीय द्वन्द्वमा परिणत हुने सम्भावना बोकेको विषय हो ।’
विगत केही दिनदेखि भारतीय र पाकिस्तानी फौजबीच गोली हानहान बढेको छ ।
खान र ट्रम्पले वाशिङटनमा गरेको वार्ताको केही दिनपछि नियन्त्रण रेखामा भिडन्त चर्किएको हो । ट्रम्पले भारत र पाकिस्तानबीच मध्यस्थताको प्रस्ताव राखेका थिए अनि यसलाई नजानिँदो तवरले अफगानिस्तानबाट अमेरिका हट्नका लागि पाकिस्तानको सहयोगसँग जोडेका थिए ।
त्यसको केही दिनपछि नियन्त्रण रेखामा भारी गोलीबारी तथा पाकिस्तानी टोलीहरूले गर्न खोजेको घुसपैठलाई भारतले पाकिस्तानका तर्फबाट संकट उत्पन्न गर्न खोजेको रूपमा लिएको छ । त्यसरी संकट उत्पन्न गरेर भारतले सैन्य कारवाही चलाउने अपेक्षा पाकिस्तानले लिएको भारतको बुझाइ छ ।
भारतले सैन्य कारवाही अघि बढाएमा पाकिस्तानले अन्तर्राष्ट्रिय सहायताको आह्वान गर्ने र जम्मु कश्मीरका विषयमा पाकिस्तानसँग वार्ताको टेबलमा बस्न बाध्य हुने आशा पाकिस्तानले गरेको छ । पाकिस्तानले अफगानिस्तानमा देखाएको उपस्थिति, गरेको लगानी र कामकारवाहीलाई जहिले पनि कश्मीरसँग जोड्ने गरेको छ ।
सरकारका उच्च स्रोतहरूले पुष्टि गरेअनुसार, नियन्त्रण रेखामा पाकिस्तानको थप कारवाहीको अपेक्षा भारतले गरेको छ । जम्मु कश्मीरमा विकसित भइरहेको घटनाक्रमको कुरा भारतका विदेशमन्त्री एस जयशंकर र उनका अमेरिकी समकक्षी माइक पम्पिओले गत साता चर्चा गरेका थिए ।
अहिले भिडन्त चर्किनुको परिणाम यस्ता हुन सक्छन् : पहिलो, ट्रम्पको बयानसँगै पाकिस्तानले कश्मीरमा अन्तर्राष्ट्रिय मध्यस्थताको प्रस्ताव फेरि उठाउने मौका पाएको छ ।
दोस्रो, पाकिस्तानको जासूसी संयन्त्रले यसको तयारी पहिलेदेखि नै गरेको हुन सक्छ तर अहिले उचित अवसर जस्तो देखियो । तर हालै विकसित घटनाक्रमले यो दोस्रो तर्कमा दम नभएको देखाउँछ । विगत केही महिनायता भारतका सुरक्षा अधिकारीहरूले पाकिस्तानबाट आएका आतंकवादीको संख्या घटेको, नियन्त्रण रेखामा कम गोली हानाहान भएको र नियन्त्रण रेखापारि आतंकवादीहरूको आक्रमणविन्दु हटेको पाएका थिए ।
पाकिस्तानले भारतसँग वार्ताका लागि अर्कै किसिमको खेल खेलेको पनि हुनसक्छ ।
एजेन्सी